दुलारीः ३३ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सुन्दरहरैंचा–४ मा एराइज नेपाल सोसाइटीको आयोजना तथा सुन्दरहरैंचा नगरपालिकाको सहयोगमा सचेतना तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सिटी सफारी चालक पार्वती विश्वकर्मा, सीता पौडेल र सरिता सरदारलाई सम्मान गरिएको थियो । महिला अधिकारका विषयमा सुशीला सुवेदी पाठकले सहभागीलाई जनकारी गराउनुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै नगर उपप्रमुख अकली चौधरीले सभ्य र हिंसारहित समाज निर्माणमा सबै लाग्नुपर्ने बताउनुभयो ।
एराइज नेपाल सोसाइटीकी अध्यक्ष पार्वती गच्छदारले अभियानको उद्देश्य स्पष्ट पार्दै महिलामाथि हुने हिंसाविरुद्ध जनचेतना जगाउने र समस्याहरूको समाधानका लागि कानुनी आधार तय गर्न कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
सुन्दरहरैंचाका नगर प्रवक्ता तथा वडा नं. १२ का अध्यक्ष रोशनप्रसाद ढकालले पितृसत्तात्मक सोच, सामाजिक विभेद र लैंगिक असमानता विरुद्ध अभियान सञ्चालन गर्दा समाज परिवर्तनमा सकारात्मक योगदान पुग्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, महिला, स्वयंसेवक, जनप्रतिनिधि कर्मचारी, विद्यार्थीलगायत सहभागी थिए ।