विराटचोकः नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल र हवाइ इन्धनको मूल्य बढाएको छ ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ बढेको हो । हवाई इन्धनको मूल्य पनि बढेको छ । आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ डलरले मूल्यवृद्धि भएको निगमले जनाएको छ ।
निगमका अनुसार पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १ सय ५७ रुपैयाँ ५० पैसा कायम भएको छ ।
दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १ सय ५९ रुपैयाँ तथा तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ ।