सलकपुरः नागरिक स्वावलम्बन विकास नेपाल (सिड) ले सुन्दरहरैंचाका विपन्न परिवारका विद्यार्थीलाई अध्ययनमा सहयोग गरिरहेको छ । संस्थाले सहयोग गरेका १२४ जना विद्यार्थीमध्ये केही विद्यार्थीले हिजो सुन्दरहरैंचाका सरोकारवालाबीच आफ्नो प्रतिभा प्रस्तुत गरे ।
कार्यक्रमको सञ्चालन पनि सहयोग पाउने विद्यार्थीमध्येकै विद्यार्थी चन्द्रकला विश्वकर्माले गर्नुभएको थियो । सहयोग पाउने विद्यार्थी कला तामाङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा क्यानडावासी आदर्श मेहता हुनुहुन्थ्यो । सिड नेपालका निर्देशक डा. अर्जुनमणि गुरागाईँका अनुसार क्यानडामा रकम सङ्कलन गरेर उहाँले नै नेपाली विपन्न विद्यार्थीको पढाइमा सहयोग पुगोस् भनेर नेपालमा पठाउनुहुन्छ ।
कार्यक्रममा गीत, नृत्य, कविता र आफ्नो अनुभव सुनाउँदा उपस्थित अन्य विद्यार्थी कुनै बेला भावुक भए भने कुनै बेला उत्साहित भए । आफ्नो विगतको कहालीलाग्दो पारिवारिक आर्थिक अवस्था र पढाइमा पूर्णविराम लाग्ने बेलामा सिड नेपालको सहयोगले उच्च शिक्षा लिन पाएको जानकारी भक्कानिँदै सुनाउन थालेपछि उपस्थित सबै भावुक भएर आँखा पुछ्न थालेका थिए । उनीहरुमध्येकै केही विद्यार्थीले गीत, नृत्य प्रस्तुत गर्दा र भविष्यको योजना सुनाउँदा सबै हर्षित भएर उत्साहित भएका थिए ।
सुन्दरहरैंचा नगर कार्यपालिका सदस्य तथा वडा नम्बर ८ का वडा सदस्य रोशन उप्रेतीले सिड नेपालको सिफारिश र अनुरोधमा वडा कार्यालयले १० जना विद्यार्थीलाई साइकल वितरण गरेर सिड नेपाललाई सहयोग गर्न शुरु गरेको र आगामी वर्ष यो सहयोगाई दोब्बर बनाउने बताउनुभयो । जनप्रतिनिधिले भन्दा बढी चासो दिएर बालबालिकाको शिक्षामा सिड नेपाल लागेको उहाँको भनाइ थियो ।
शिक्षा निकेतन माविका सहायक प्रधानाध्यापक घनश्याम ढकाल, देवता आधारभूत विद्यालयका प्रधानाध्यापक मध्यनारायण चौधरीलगायतले खुलेर सिड नेपालको प्रशंसा गर्दै अभिभावक र शिक्षकले गर्न नसकेको काम सिड नेपालले गरिरहेको बताउनुभयो ।
कार्यक्रमकी प्रमुख अतिथि आदर्श मेहताले नेपाली विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुहुँदै गत वर्ष नेपाल आएर आफ्नी छोरीले पनि नेपाली विद्यार्थीबाट धेरै ज्ञान लिएको बताउनुभयो ।
सिड नेपालका निर्देशक डा. अर्जुनमणि गुरागाईँले आफूहरुले गरेको सहयोग दुरुपयोग नहोस् भनेर प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्बन्धित विद्यार्थीको घरपरिवारसँग भेटघाट गर्ने र जानकारी लिने गरेको जानकारी दिनुभयो ।
सम्बन्धित थप समाचारः
सिड नेपालको सहयोग सम्झिएर भावुक बने विद्यार्थी, सरोकारवालाले गरे संस्थाको प्रशंसा