सलकपुरः नागरिक स्वावलम्बन विकास (सिड) नेपालद्वारा सञ्चालित “विद्यालय निरन्तरता’’ कार्यक्रमको सामाजिक परीक्षण बुधबार सम्पन्न भएको छ । सामाजिक परीक्षण कार्यक्रममा उपस्थित लाभग्राही विद्यार्थी संस्थाको सहयोग सम्झिएर भावुक बने । उनीहरुका अभिभावक, विद्यालयका शिक्षक र सरोकारवालाले सिड नेपालको कार्यक्रमको मुक्तकण्ठले प्रशंसा गरे ।
विगत ५ वर्षदेखि सुन्दरहरैंचाको शिक्षा क्षेत्रमा सहयोग गर्ने क्रममा विद्यार्थीलाई पोशाक, पाठ्यपुस्तक तथा साइकल खरीद गर्नुका साथै ज्यादै विपन्न परिवारका विद्यार्थीलाई अध्ययन खर्चसमेत संस्थाले दिँदै आएको छ । यसै क्रममा संस्थाले गत वर्ष गरेका कार्यक्रमको जानकारी दिँदै सामाजिक परीक्षण गर्ने उद्देश्यले राखिएको कार्यक्रममा सिड नेपाल र संस्थाका निर्देशक डा. अर्जुनमणि गुरागाईँको सहयोग र सदाशयताको प्रशंसा विद्यार्थीले गरेका हुन् ।
सुन्दरहरैंचा वडा नम्बर ८ का अध्यक्ष खेम न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख लीला ओझा, शिक्षासेवी भीम अधिकारी, ज्योति माविका प्रधानाध्यापक यामप्रसाद सिग्देललगायतले आफ्नो धारणा राख्नुभएको थियो । संस्थाकी अध्यक्ष डा. विनिता पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा संस्थाको १ वर्षको गतिविधि निर्देशक डा. अर्जुनमणि गुरागाईँले प्रस्तुत गर्नुभएको थियो । स्वतन्त्र रुपले सामाजिक परीक्षण सम्पन्न हुनु खुशीको कुरा भएको निर्देशक गुरागाईँले बताउनुभयो ।
सिड नेपालका संस्थापक सदस्य गिरिधारी सुवेदीले आफूलाई कमजोर नठानी अघि बढ्न सबै विद्यार्थीलाई सुझाव दिनुभयो । संस्थाका महासचिव दिनेश तामाङले सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गर्दै उपस्थित सम्पूर्णलाई उपस्थितिको लागि आभार व्यक्त गर्नुभएको थियो ।
चिरम स्मृति प्रतिष्ठानका सचिव कोमल लुइँटेल, मानव अधिकार अभियन्ता रत्न परियार, पूर्व कार्यपालिका सदस्य उर्मिला शर्मा रिजालले पनि सिड–नेपालको कार्यको प्रशंसा गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।
कार्यक्रममा लाभग्राही विद्यार्थी, अभिभावक, शिक्षक र विभिन्न संघसंस्थाका प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो ।
शिक्षा निकेतन माविका सहायक प्रधानाध्यापक गणेशप्रसाद पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता शिक्षा निकेतनका प्रधानाध्यापक ठाकुरप्रसाद सुवेदीले गर्नुभएको थियो ।