ओखलढुङ्गाः ओखलढुङ्गा जिल्लाको जिल्ला समन्वय समितिको सभापतिमा नेपाली कांग्रेसका टेकराज भट्टराईको मात्र उम्मेद्वारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ ।
१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत ओखलढुंगामा जिल्ला समन्वय समिति प्रमुखको निर्वाचनका लागि आइतबार भट्टराईको मात्र उम्मेदवारी परेको हो । निर्वाचन समितिका अनुसार ओखलढुंगाको जिससमा कांग्रेसको एकल बहुमत रहेकोले अन्य दलले उम्मेदवारी नै दिएनन् । जिसस सभापतिका लागि पालिकाका प्रमुख\अध्यक्ष र उपप्रमुख\उपाध्यक्ष मतदाता रहन्छन् । ओखलढुंगामा कांग्रेस एक्लैको बहुमत छ । ८ पालिका रहेको ओखलढुंगामा कांग्रेसले प्रमुख र उपप्रमुख गरी ८ जना जितेको थियो । स्वतन्त्रबाट जितेका एक जना पनि कांग्रेसमै रहेका छन् ।
एमालेसँग ५ तथा माओवादी र जसपासँग १\१ जना पदाधिकारी छन् । ओखलढुंगामा यसअघि पनि २०७९ को चुनावबाट नेपाली कांग्रेसका डिल्लीराम खनाल जिसस सभापति निर्वाचित हुनुभएको थियो ।