विराटचोकः मंसिर १६ गते हुने उपनिर्वाचन अन्तर्गत ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाली कांग्रेसले १३ जनाको नाम सिफारिश गरेको छ ।
पालिका समितिको बैठकले पालिका सभापति, किरण (तुलसी) विश्वास, उसपभापति फूलकुमारी चौधरी र राजेश माझी, पालिका सदस्य हजारीप्रसाद चौधरी, पूर्व महासमिति सदस्य बलराम सरदार, महाधिवेशन प्रतिनिधि चन्दन माझी र उषादेवी चौधरी, महासमिति सदस्य सत्यनारायण भगत, क्षेत्रीय प्रतिनिधि बादल माझी र सुवास गच्छदार, क्रियाशील सदस्य ज्योति गच्छदार, क्षेत्र नम्बर ४ (क) प्रदेश सदस्य शेखर विश्वास र मनोनित कोशी प्रदेश सदस्य सूर्यनारायण माझी रहेका छन् ।
विभिन्न मापदण्ड बनाउँदै ती नाम सिफारिश गरेको बताइएको छ । पार्टीको क्रियाशिल सदस्य भएको २० वर्ष हुनुपर्ने, भातृ संगठनमा वडा तहदेखि नै काम गरेको हुनुपर्ने, पार्टीले गरेका विभिन्न आन्दोलन र संघर्षमा भाग लिएको हुनुपर्ने र अहिले जनताको प्रत्यक्ष सेवामा खटेकोलाई प्राथमिकता दिनुपर्ने गरी ती नाम सिफारिश गरेको बताइएको छ ।