बेलबारीः सातौँ संस्करणको बेलबारी गोल्डकप असोज ११ गतेदेखि बेलबारी–११ स्थित लक्ष्मी माविको खेलमैदानमा आयोजना हुने भएको छ ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, साविक विजेता ब्रिगेड ब्वाइज क्लब काठमाडौँ, चित्लाङ फुटबल क्लब काठमाडौँ, बुटवल लुम्बिनी फुटबल क्लब, झापा–११, सलहेश युवा क्लब सिरहा, भोजपुर जिल्ला फुटबल संघ, रारा फुटबल क्लब राजारानी धनकुटा, दलसिंहपारा स्पोर्टस एकेडेमी जयगाउँ वेस्ट बंगाल र आयोजक एल एक्स सिटी फुटबल क्लबबीच प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताको विजेता टोलीले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैयाँ पाउनेछन् । आयोजकले यस संस्करणदेखि रनिङ कप गोल्डकप शुरु गर्न लागेको हो । दुई तोला सुन र अढाई किलो चाँदीजडित ट्रफी सधैँका लागि आफ्नो बनाउन लगातार ३ पटक विजेता बन्नुपर्नेछ । यो ट्रफी लक्ष्मीमार्ग निवासी पोपिराज राई र ज्योतीराज राईले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा प्रदान गर्नुभएको आयोजक एल एक्स सिटी फुटबल क्लबले जनाएको छ ।