गछियाः सुन्दरहरैंचा–६ देवस्थान शिवालय किरातेश्वर मन्दिरमा भोलिदेखि साउन २८ गतेसम्म दैनिक धार्मिक अनुष्ठान हुने भएको छ । मन्दिर व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार महिनाभर विभिन्न अनुष्ठान, धार्मिक व्यक्तिको प्रवचन, भजन कीर्तन सत्सङ्ग र रुद्राभिषेक हुने भएको हो ।
पत्रकार सम्मेलनमा शेषनारायण दिव्यधाम सुन्दरहरैंचाका मठाधीश श्री १००८ स्वामी डा. यतिराजाचार्यको पनि उपस्थिति रहेको थियो । साउन महिनाभर शिवको मूर्तिमा जल अर्पण गर्नका लागि बोलबम महोत्सव पनि सञ्चालन गरिनु खुशीको कुरा भएको डा. आचार्यले बताउनुभयो ।
२०३९ सालमा स्थापना भएको मन्दिर २०५८ सालमा निर्माण सम्पन्न भएको मन्दिर व्यवस्थापन समितिका सचिव बलराम दाहालले जानकारी दिनुभयो । स्व. डा. पिनाकीप्रसाद आचार्यले दान गर्नुभएको ४ कट्ठा जग्गामा मन्दिर निर्माण भएको उहाँको भनाइ थियो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्योतिखर अधिकारीको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो ।
भोलि बिहान कलशयात्रा गरी अनुष्ठान शुरु गरिने र बिहान ११ बजे विधिपूर्वक अनुष्ठान प्रारम्भ हुने आयोजकले जनाएको छ ।