विराटचोकः बीपी कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस मोरङले स्वास्थ्य शिविर, रक्तदान र कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आज साउन ५ गते विराटनगरको रामजानकी मन्दिर परिसरमा बृहत् आँखा शिविरको आयोजना गरिने सूचना एवम् सञ्चार विभाग प्रमुख वीरेन्द्रकुमार साहले बताउनुभएको छ ।
त्यस्तै, मोरङ जिल्लामा रहेको रगतको अभावलाई मध्यनजर गर्दै साउन ५ गते नै रक्तदान कार्यक्रमको आयोजना गरिने कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बूले जानकारी दिनुभएको छ ।
भोलि साउन ६ गते सुनवर्षी नगरपालिका वडा नं ९ मा रहेको बीपी केन्द्रमा खुला कविता प्रतियोगिताको आयोजना गरिने र प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कृत गरिने जिल्ला सचिव ललित श्रेष्ठले बताउनुभयो ।
नेपाली कांग्रेस मोरङले समाजसेवा र सिर्जनशीलतामा योगदान पुर्याउने उद्देश्यले यी कार्यक्रमहरूको आयोजना गरेको नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले बताउनुभयो ।