उर्लाबारीः मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५ करोड १६ लाख ४३ हजार ५ सय रुपैयाँको अनुमानित बजेट प्रस्ताव गरेको छ । बुधबार नगरको १२ औँ नगर सभामा उपप्रमुख मीनाकुमारी खतिवडाले प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको हो । आर्थिक वर्ष ०८०–०८१ को भन्दा ८ करोड ३१ लाख ८१ हजार ५०२ रुपैयाँ कमको बजेट प्रस्तुत गरिएको हो ।
आव २०८० र ०८१ मा प्रस्ताव गरिएभन्दा ८ करोड ७७ लाख १६ हजार ४७ रुपियाँ मात्र वास्तविक आय गरेको नगरपालिकाले चालु खर्च तर्फ ५६ करोड ८३ लाख ८१ हजार ७१९ रुपियाँ विनियोजन भएकोमा ६३.६८ प्रतिशत अर्थात् ३६ करोड १९ लाख ८१ हजार ५०९ रुपियाँ खर्च गरेको छ । यस्तै पुँजीगत खर्च तर्फ ५६ करोड ६४ लाख ४३ हजार २८३ रुपियाँ विनियोजन भएकोमा ५९.०५ प्रतिशत अर्थात् ३३ करोड ७० लाख ५९ हजार ५१५ रुपियाँ खर्च गरिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८० र ०८१ मा २१ करोड ६९ लाख ४४ हजार ११४ रुपियाँ आन्तरिक आम्दानी गरेको छ ।
प्रस्तुत बजेटमा नगरले सङ्घीय सरकार वित्तीय समानीकरणबाट १६ करोड २१ लाख, सङ्घीय सरकार विशेष अनुदानबाट ३ करोड, सङ्घीय सरकार सशर्त अनुदानबाट ४५ करोड ८४ लाख, सङ्घीय सरकार समपूरक अनुदानबाट १ करोड ५० लाख, सङ्घीय सरकार वन रोयल्टीबाट ३७ लाख, विज्ञापन करबाट ३ लाख ५० हजार प्रदेश सरकारबाट वित्तीय समानीकरण १ करोड १३ लाख १८ हजार, प्रदेश सरकार समपूरक अनुदान १ करोड ५० लाख, प्रदेश सरकार सवारी साधन करबाट प्राप्त हुने ९७ लाख ७५ हजार, प्रदेश सरकार शसर्त अनुदान ५८ लाख २ हजार रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।
मूल्य अभिवृद्धि करबाट प्राप्त हुने १० करोड, जनसहभागिता बाट १ करोड ९० लाख र आन्तरिक आम्दानी तर्फ ९ करोड ९१ लाख ८७ हजार गरी कुल १ अर्ब ५ करोड १६ लाख ४३ हजार ५ सय रुपियाँको अनुमानित बजेट प्रस्ताव गरिएको छ ।
खर्चतर्फ प्रशासनिक खर्च १४ करोड ९१ लाख ६० हजार, नगर गौरवको आयोजनाका लागि १ करोड, समपूरक कोषका लागि २ करोड, भवन निर्माण १ करोड, विपत् व्यवस्थापनमा १ करोड २५ लाख, नगरपालिका विशेष क्षेत्रगत योजना तथा कार्यक्रममा २७ करोड ४७ लाख ८१ हजार रुपियाँ विनियोजन गरिएको छ । नगरले चालु खर्च ४२ करोड ८१ लाख १० हजार अर्थात् बजेटको ४० दशमलव ७१ प्रतिशत र पूँजीगत तर्फ ६२ करोड ३५ लाख ३३ हजार ५ सय रुपियाँ अर्थात् ५९ दशमलव २९ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।







