गोठगाउँः २०८० बैशाख १ गते नेपाली क्रिकेट जगतमा खुशीयाली छाएको दिन बन्न पुग्यो । सो दिन नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचाँै खेलाडी बन्नुभयो ।
दीपेन्द्रले ओमानको अल अमरेत क्रिकेट मैदानमा कतारका कमरान खानलाई २० औं ओभरका सबै बलमा छक्का प्रहार गर्नुभएको हो । दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रनको इनिङ खेल्दा नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।
टी–२० आईमा एकै ओभरमा ६ छक्का हान्ने उहाँ तेस्रो खेलाडी बन्नुभएको छ ।
यी हुन् ऐरीभन्दा पहिले एकै ओभरमा ६ छक्का हान्ने ४ खेलाडीः
हर्सल गिब्स
उनी एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पहिलो खेलाडी हुन् । दक्षिण अफ्रिकाका ब्याटर हर्सल गिब्स ले २००७ को एक दिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध एकै ओभरमा ६ छक्का हानेका थिए ।
उनले नेदरल्यान्ड्सका डान भान बंगेलाई ३० औं ओभरमा ६ छक्का हानेका थिए । हर्सल अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन् ।
युवराज सिंह
भारतका पूर्व आक्रामक ब्याटर युवराज सिंहले २००७ को टी–२० विश्वकपमा इंग्ल्यान्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडलाई १९ औं ओभरमा ६ छक्का हानेका थिए । युवराज टी–२० आईमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन् ।
काइरन पोलार्ड
वेस्टइन्डिजका पूर्वकप्तान काइरन पोलार्डले २०२१ को टी–२० आई सिरिजमा श्रीलंकाका स्पिनर अकिला धनञ्जयलाई छैटौं ओभरमा ६ छक्का हानेका थिए ।
जसकरण मलहोत्रा
अमेरिकाका ब्याटर जसकरण मलहोत्राले २०२१ मा पपुवा न्युगिनीविरुद्ध ओडीआई खेलमा एकै ओभरमा ६ छक्का हानेका थिए । अन्तिम ओभरमा गौडी टोकालाई एकै ओभरमा छक्का हानेका थिए ।
नयाँ वर्षमा खेल क्षेत्रमा खुशीः एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं खेलाडी बने ऐरी