Tuesday, December 24, 2024
Homeफिचरराष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माण गर्न सरकार र लगानीकर्ताबीच सहमति

राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माण गर्न सरकार र लगानीकर्ताबीच सहमति

दिक्तेलः ६ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना निर्माण गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ । त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ ।

आयोजनाका प्रमुख वित्तीय व्यवस्थापक विश्व बैंक, एशियाली विकास बैंक र सरकारबीच आयोजना निर्माणको काम शीघ्र थाल्ने सहमति भएको हो । अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, दुवै मन्त्रालयका सचिव, अन्य सम्बद्ध निकायका पदाधिकारी तथा नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जेर्भोस तथा एशियाली विकास बैंकका नेपाल निर्देशक अर्नाउड काउचियोस सहभागी बैठकमा आयोजनाको वित्तीय व्यवस्थापन चाँडो सकेर निर्माणको काम अघि बढाउने सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ ।

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा एशियाली विकास बैंक नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहुलियतपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाको लगानी रहने छ । आयोजनामा ७० प्रतिशत ऋण लगानी जुटाउनका साथै ३० प्रतिशत स्वपूँजी (इक्विटी) बाट वित्तीय व्यवस्थापन गर्ने तयारी छ । आयोजनाको विषयमा केही दिन पहिले तीनै जिल्लाका जनप्रतिनिधि, आयोजना र लगानीकर्ताबीच छलफल भएको थियो ।

लगानीकर्ता एसियाली विकास बैंकका प्रतिनिधिले आयोजनाको स्थलगत अध्ययन गरेका थिए । मुआब्जाका लागि बजेट सुनिश्चित गर्न सरकारलाई तीनै जिल्लाका जनप्रतिनिधिले अनुरोध गर्ने सहमति भएको छ । रभुँवाघाटमा बाँध निर्माण हुने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ । आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत इन्जिनियरिङ डिजाइन, वातावरणीय प्रभाव अध्ययन मूल्याङ्कनलगायत काम पूरा भएका छन् । खोटाङको रावाबेंसी गाउँपालिका–३, लामीडाँडा र ओखलढुंगाको चिसंगुगढी गाउँपालिका–६, भदौरेको सीमामा पर्ने रभुँवाघाटबाट तीन जिल्लाको सरकारी बाहेक करिब २० हजार रोपनी जग्गा डुबानमा पर्ने अनुमान गरिएको छ ।

जग्गाको मूल्य निर्धारण गर्न सकिएको छैन । तीन वा पाँच रोपनीभन्दा कम जग्गा भएका जग्गाधनीलाई दिइने मुआब्जाबारे छुट्टै मूल्याङ्कन गर्नुपर्ने देखिएकाले केही अलमल भएको बताइएको छ ।

लामीडाँडाको रभुँवाबजारमा २२० मिटर अग्लो बाँध बाँधेर बनाइने जलाशयबाट सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढाइएको छ । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाबाट वार्षिक तीन अर्ब ४४ करोड ३० युनिट बिजुली उत्पादन हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments