इटहरी । सुनसरी जिल्लाका खसी तथा बोका मासु व्यवसायीहरू संगठित भएका छन् । इटहरीमा भएको भेलाले कमलबहादुर थापाको अध्यक्षतामा उनीहरुले सुनसरी खसी तथा बोका मासु व्यवसायी संघ बनाएका हुन् ।
संघको उपाध्यक्षमा मो. सलिम हुसेन, सचिवमा सन्तोषप्रसाद आचार्य र कोषाध्यक्षमा जितेन्द्र चौधरी चयन भएका छन् । यस्तै सदस्यमा लालबहादुर बुढाथोकी, मो. इन्ताज आलम, कुर्बान हुसेन, सजाद हुसेन, हदिस मियाँ, मो. नसरुदिन र भीमबहादुर विष्ट चयन भएका छन् ।
दशैंको मुखमा हुने अनुगमनले व्यवसायमा नकारात्मक प्रभाव पारेको जिकिर गर्दै उनीहरु आफ्नो हकहितका लागि संगठित भएका हुन् । उपभोक्तालाई स्वच्छ र स्वस्थ मासु उपलब्ध गराउने प्रतिबद्धतासमेत उनीहरूले जनाएका छन् ।
जिल्लाभरिका खसी तथा बोका मासु व्यवसायीहरुले मासु उत्पादनका क्रममा भोगेका अनुभवहरुसमेत व्यक्त गरेका थिए । भेलामा मासु व्यवसाय क्षेत्रमा देखिएका विभिन्न समस्या, व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने उपाय तथा उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै स्वच्छ र गुणस्तरीय मासु बिक्री वितरण गर्नुपर्ने विषयमा छलफल गरिएको थियो ।
व्यवसायीहरूले भोग्दै आएका समस्या समाधान गर्न स्थानीय सरकार तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने जनाइएको छ ।
सो भेलाले सात सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकार समितिमा दमप्रसाद श्रेष्ठ, देवीप्रसाद गौतम, मो. मोम्ताज आलम, मो. जलाल हुसेन, भुवनसिंह खड्का, रामबहादुर खड्का र केशव खड्का रहेका छन् ।





