तनहुँः बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि घुम्ने याम शुरु भएसँगै विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको हो ।
गत वर्षको तुलनामा यो वर्षको भदौ यता बन्दीपुरमा चिनियाँ पर्यटकको सङ्ख्या बढेको होटल व्यवसायीको भनाइ छ । व्यवसायीका अनुसार चीन, जर्मनी, श्रीलङ्का, ताइवान, स्पेनलगायतका देशबाट दैनिक दुई सयको हाराहारीमा पर्यटक आउने गरेका छन् ।
बन्दीपुरको भञ्ज्याङ चौताराबाट सिमलटारसम्म गरिने प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढेको छ । समुद्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा रहेको भञ्ज्याङ चौताराबाट उडान सुरु भई करिब १०० मिटरसम्मको उचाइमा मुकुन्देश्वरी डाँडा छेउ हुँदै मनोरञ्जन लिन सकिन्छ ।
नेवारी तथा आदिवासी जनजातिका संस्कृतिसँगै प्राकृतिक छटाले भरिपूर्ण बन्दीपुरमा सयौँ वर्ष पुरानो बजार, मठ, मन्दिर, गुफा, आँखै अगाडि देखिने हिमालको मनोरम दृश्य तथा साहसिक गन्तव्यले पर्यटकको मन लोभ्याउने गर्दछ ।