सलकपुरः सामाजिक अभियन्ता तथा स्वतन्त्र नागरिक समाज, मोरङका अध्यक्ष नेत्रप्रसाद चौलागाईंले समाजमा विद्यमान विकृति, विसङ्गति र महिषासुरजस्ता प्रवृत्तिलाई परास्त गर्नुपर्ने बताउनुभएको छ । दशैंको अवसरमा सुन्दरहरैंचा–८ पाथीभरा मन्दिरमा भएको नवदुर्गा पूजा विशेष कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
आफ्नो मन्तव्य राख्नुअघि नवदुर्गाको कथा श्रवण गरेका चौलागाईँले सोही कथामा वर्णित मिथकलाई आफ्नो बोलीमा प्रयोग गर्नुभएको थियो ।
उहाँले दुर्गा भवानीले महिषासुरमाथि विजय प्राप्त गरेको धार्मिक प्रसङ्गलाई समाजमा रहेका खराब प्रवृत्तिविरुद्ध एकताबद्ध भएर अघि बढ्नुपर्ने सन्देशसँग जोड्नुभएको थियो ।
आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै उहाँले नगरको विकास र जनताको हितका लागि सक्षम, इमानदार तथा कुशल नेतृत्व छनोट गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । राजनीतिक दलहरूले गठबन्धन गरे पनि नागरिकले आफ्नो विवेक प्रयोग गरी योग्य नेतृत्व पहिचान गर्नुपर्ने बताउँदै उम्मेद्वारको क्षमता, कार्यशैली, इमानदारी र जनताप्रतिको उत्तरदायित्वलाई आधार बनाएर निर्णय गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
सामाजिक तथा धार्मिक क्षेत्रमा चौलागाईँले पुर्याएको योगदान प्रशंसनीय भएको भन्दै आयोजकले चौलागाईँलाई सम्मान पनि गरेको थियो ।





