Saturday, October 10, 2026
Homeअर्थभोलिदेखि विराटचोकमा सुन्दरहरैंचा फुड फेस्टिभल, १५ लाख रुपैयाँ बचत गर्ने लक्ष्य

भोलिदेखि विराटचोकमा सुन्दरहरैंचा फुड फेस्टिभल, १५ लाख रुपैयाँ बचत गर्ने लक्ष्य

विराटचोकः भोलिदेखि मोरङको सुन्दरहरैचाको विराटचोकमा रहेको औद्योगिक प्रदर्शनी स्थलमा ‘सुन्दरहरैंचा फुड फेस्टिभल–२०८३’ आयोजना हुने भएको छ ।

सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घको आयोजनामा भोलिदेखि कात्तिक १० गतेसम्म सुन्दरहरैंचा–१०, विराटचोकस्थित सुन्दरहरैंचा औद्योगिक प्रदर्शनी केन्द्रमा फेस्टिभल सञ्चालन हुने भएको हो ।

सुन्दर होटल पर्यटन व्यवसायी सङ्घ सह–आयोजक रहेको फेस्टिभलमा दुई लाखभन्दा बढी दर्शक तथा अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । दशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर आयोजना गर्न लागिएको फेस्टिभलमा स्थानीय स्वाद, मौलिक संस्कृति र मनोरञ्जनलाई विशेष प्राथमिकता दिइने जनाइएको छ ।

विभिन्न जातजातिका परम्परागत खाद्य परिकार, कृषि तथा घरेलु उत्पादन, हस्तकला र व्यापारिक सामग्रीको प्रदर्शनी तथा बिक्री फेस्टिभलका प्रमुख आकर्षण रहने बताइएको छ । साँझमा साङ्गीतिक प्रस्तुति प्रस्तुत हुने भएको छ ।

राजेश पायल राई, सविन राई, रचना रिमाल, डम्बर नेपाली, प्रीति आले मगर, एलिना चौहान, मिलन परियार तथा विभिन्न साङ्गीतिक ब्याण्डको प्रस्तुति रहने साङ्गीतिक साँझ बेलुका १० बजेसम्म चल्ने जनाइएको छ ।

पारिवारिक घुमघामसँगै स्थानीय परिकारको स्वाद लिँदै मनोरञ्जन गर्न सकिने उत्सवका रूपमा फेस्टिबललाई लिइएको संघका अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो ।

विभिन्न खाद्य परिकारका २० वटा स्टल रहने फेस्टिबलमा १४ वटा व्यावसायिक र बाँकी स्थानीय उत्पादन तथा सामाजिक र सांस्कृतिक क्षेत्रको प्रवद्र्धनका लागि निःशुल्क स्टल उपलब्ध गराइने मेला आयोजक समितिका संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयो ।

सङ्घका महासचिव हरि कार्कीले फेस्टिभललाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक तयारी भइरहेको बताउनुभयो । फेस्टिभललाई सफल बनाउन समाजका विभिन्न व्यक्तित्वसँग छलफल र अन्तरक्रिया जारी रहेको उहाँको भनाइ थियो ।

सोे फेस्टिभलबाट १ करोड दुई लाख रुपैयाँ आम्दानी हुने अनुमान आयोजकले गरेको छ । टिकट बिक्रीबाट ८५ लाख रुपैयाँ, मुख्य प्रायोजक तथा सह–प्रायोजकबाट १० लाख रुपैयाँ र मनोरञ्जन तथा खेलकुद गतिविधिबाट सात लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको जनाइएको छ ।

करिब १५ लाख रुपैयाँ बचत गर्ने लक्ष्य रहेको र सो रकम सङ्घको संस्थागत विकास, व्यवसायीको हित, सामाजिक उत्तरदायित्व तथा आगामी कार्यक्रम सञ्चालनमा उपयोग गरिने जनाइएको छ ।
फेस्टिभलको मुख्य प्रायोजक नेपालीरिका होटल रहेको छ। प्रायोजकहरूमा पार्थिभरा फुड प्रोडक्ट, चामुण्डा फुड (बेली), कञ्चनजङ्घा इन्जिनियरिङ प्रा.लि., प्रणाम इँटा, प्रिन्स इँटा, टुबोर्ग बियर, म्याक्स टाइगर इनर्जी ड्रिंक्स, ग्रिनसिटी हाउजिङ र आर.एन.जी. ग्रुप रहेका छन् ।

फेस्टिभलका विषयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले कार्यक्रमको तयारी, मुख्य आकर्षण, व्यवस्थापन र अन्य विभिन्न विषयमा जानकारी दिएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments