विराटचोकः राष्ट्रिय कर दिवसका अवसरमा सरकारले गत आर्थिक वर्षको कर चालु आर्थिक वर्षमा तिर्नेमध्ये सर्वाधिक कर दाखिला गर्ने उत्कृष्ट करदाता तथा व्यावसायिक प्रतिष्ठानहरूलाई सम्मान गरेको छ ।
मंसिर १ गते आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्ने राजबहादुर शाहसहित विभिन्न १६ विधाका उत्कृष्ट करदाताहरूलाई सम्मानपत्र प्रदान गर्नुभएको हो ।
व्यक्तिगत आयकरतर्फ राजबहादुर शाहले लगातार दोस्रो वर्ष मुलुककै सर्वाधिक करदाताको उपाधि कायम राख्नुभएको हो ।
यसैगरी, बैंक, वित्तीय संस्था तथा बीमा क्षेत्रतर्फ नबिल बैंक लिमिटेडले सबैभन्दा बढी आयकर दाखिला गरी उत्कृष्ट करदाताको सम्मान प्राप्त गरेको छ । गत वर्ष सो विधामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सम्मानित भएको थियो ।
स्वास्थ्य क्षेत्रमा नोबेल हस्पिटलले यस वर्ष पनि सर्वाधिक कर तिर्ने करदाताको सम्मान पाएको छ ।
सरकारले प्रतिकूल परिस्थितिका बाबजुद उदाहरणीय व्यावसायिकता र उद्यमशीलता प्रदर्शन गर्दै मुलुकको राजस्वमा निरन्तर उच्च योगदान पुर्याएको भन्दै भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिलाई विशेष सम्मान प्रदान गरेको छ ।
आन्तरिक राजस्व विभागले पारदर्शी व्यावसायिक अभ्यास, समयमै कर दाखिला गर्ने संस्कारको विकास तथा राज्यको वित्तीय पूँजी निर्माणमा टेवा पुर्याउने उद्देश्यले हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरूलाई पुरस्कृत गर्दै आएको छ ।





