इटहरीः शिक्षा मन्त्रालयले देशभरका विद्यालयलाई परिस्थिति हेरेर दुई दिन बिदा दिन सक्ने सूचना जारी गरेसँगै इटहरी उपमहानगरपालिकाका सबै विद्यालय दुई दिनका लागि बन्द हुने भएका छन् ।
इटहरी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयअन्तर्गत शिक्षा, युवा तथा खेलकुद महाशाखाले आज सूचना जारी गर्दै असोज आज र भोलि दुई दिन पालिकाभित्रका सम्पूर्ण विद्यालय बन्द रहने जनाएको हो ।
जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण एवं शिक्षा तथा खेलकुद मन्त्रालयबाट जारी पूर्वानुमान तथा सूचनालाई ध्यानमा राख्दै उक्त निर्णय लिइएको महाशाखाले जनाएको छ ।
उपमहानगरपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक, संस्थागत (निजी) तथा धार्मिक विद्यालयमा असोज ८ र ९ गते दुई दिन ‘मीनपचास’ बिदाबाट कट्टा हुने गरी बिदा दिइएको हो ।
महाशाखाले अभिभावक, विद्यार्थी तथा सरोकारवालालाई मौसमको सम्भावित जोखिमबाट सुरक्षित रहन र सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै देशका धेरै स्थानीय तहले आज र भोलि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका छन् ।





