कानेपोखरीः मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ६ स्थित जनसेवा माध्यमिक विद्यालयको खेलमैदानमा ‘जिल्लास्तरीय प्रथम वडाध्यक्ष कप’ तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ ।
आयोजक मोरङ सी.एच.आईटीएफ तेक्वान्दो संघले कानेपोखरीमा पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार आगामी कार्तिक १३ र १४ गते प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
प्रतियोगितामा कोशी प्रदेशका मोरङ, पाँचथर र तेह्रथुमका खेलाडीहरूको सहभागिता रहने छ । प्रतियोगितामा ११० जना पुरुष र १०५ जना महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
१५ जना अफिसियल र ५ जना निर्णायक टोलीमा सहभागी हुनेछन् । सहभागी अफिसियल, निर्णायक र खेलाडीहरूका लागि खाना तथा बस्नको सम्पूर्ण व्यवस्था आयोजक समितिले नै गर्ने जानकारी दिइएको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
डोजाङतर्फ प्रथम हुनेले ट्रफीसहित १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुने डोजाङले क्रमशः ट्रफीका साथ ८ हजार र ५ हजार रुपैयाँ नगद पाउनेछन् । यस्तै उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही १\१ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिनुका साथै सहभागी खेलाडीहरूलाई प्रमाणपत्र तथा मेडल वितरण गरिनेछ ।
२ लाख ५२ हजार रुपैयाँ अनुमानित लागत रहने उक्त प्रतियोगिताका लागि कानेपोखरी गाउँपालिका वडा नं. ६, स्थानीय संघसंस्था तथा खेलप्रेमीहरूबाट सहयोग संकलन गरी बजेट व्यवस्थापन गरिने आयोजकले जनाएको छ ।
खेलकुदको माध्यमबाट स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गर्दै युवाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिनुभयो ।
अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षता तथा सी.एच.आईटीएफ तेक्वान्दो संघ कोशीका अध्यक्ष युवराज भुजेलको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा संघका प्रदेश र जिल्लाका पदाधिकारीहरू, पत्रकारहरू, प्रशिक्षार्थी खेलाडीहरू लगायतको उपस्थिति रहेको थियो ।





