इटहरीः अखाद्य तथा गुणस्तरहीन खाद्य वस्तुको उत्पादन, भण्डारण र बिक्रीलाई लक्षित गरी गरिएको अनुगमनका क्रममा दुई उद्योगमा कैफियत भेटिएपछि उत्पादन तथा बिक्रीमा रोक लगाइएको छ ।
इटहरी उपमहानगरपालिका बजार अनुगमन शाखा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीको संयुक्त टोलीले मङ्गलबार इटहरीका विभिन्न उद्योग, कारखाना तथा पसलमा अनुगमन गर्ने क्रममा ती उद्योगमा त्रुटि भेटिएको जनाइएको छ ।
इटहरी–९ मा रहेको खनाल फुड्स प्रोडक्समा नमकिन र फिंगर चिप्स उत्पादनको अनुमति लिएर चिजबल, पोटेटो क्रेकरलगायतका वस्तु अनुमतिविपरीत उत्पादन तथा बिक्री भइरहेको पाइएको थियो । सो उद्योगमा पिठो मुछ्ने मेसिनमा खिया लागेको, भुजिया मिक्सिङ गर्ने सामग्रीमा फोहोर जमेको तथा तेलमा डुबाउने ताइमा समेत खराबी भेटिएको थियो ।
अनुगमन टोलीले सो उद्योगबाट उत्पादित सामग्री स्टक गरी तत्काल बिक्री गर्न नमिल्ने गरी राख्न लगाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका प्रमुख राकेश मण्डलका अनुसार इटहरी–३ स्थित बृहस्पति फुड प्रडक्ट इन्डस्ट्रिज प्रालिमा उत्पादित भेजिटेबल सससमेत मापदण्डअनुसार नभएको पाइएको थियो । सो उद्योगको उत्पादन पनि बन्द गरी उद्योग सिल गरिएको छ ।
सो अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका प्रमुख राकेश मण्डल, खाद्य निरीक्षण अधिकारी उज्ज्वल कोइराला तथा इटहरी उपमहानगरपालिकाका अनु अर्याललगायत सहभागी हुनुहुन्थ्यो ।





