लेटाङः आर.ए. डान्स क्रु स्टुडियोको आयोजनामा सञ्चालित ‘लेटाङ डान्स च्याम्पियन सिजन–२’ को ग्राण्ड फाइनल सम्पन्न भएको छ । लेटाङ–५ स्थित ग्रीन पिस पार्टी प्यालेसमा भएको ग्राण्ड फाइनलमा जुनियरतर्फ स्वस्तिका तामाङ र सिनियरतर्फ करिस्मा शिवाले सिजन–२ को उपाधि चुमेका छन् ।
सिनियर समूहका विजेताहरूः
प्रथमः करिस्मा शिवा (लक्ष्मी मा.वि., लेटाङ–२)
दोस्रोः एन्जेल मिश्र (पूर्वाञ्चल अल्मामेटर होम, लेटाङ–४)
तेस्रोः आरजु सोनाम (लेटाङ–२)
जुनियर समूहका विजेताहरूः
प्रथमः स्वस्तिका तामाङ (टेन्डर बर्ड स्कुल, जाँते–९)
दोस्रोः सोनाहाङ राई (शान्ति भगवती मा.वि., लेटाङ–४)
तेस्रोः मोरङ पाथीभरा विद्यालय (लेटाङ–२) का विद्यार्थी
२०८३ वैशाख २३ गतेदेखि लेटाङ नगरपालिकाका विभिन्न वडाका विद्यालयहरूमा अडिसन सञ्चालन गरी शुरु भएको प्रतियोगितामा २०५ जना प्रतियोगीले भाग लिएका थिए । प्रथम अडिसन, क्वार्टर फाइनल र सेमीफाइनल पार गर्दै अन्तिम प्रतिस्पर्धाका लागि २२ जना प्रतियोगीहरू ग्राण्ड फाइनलमा पुगेका थिए ।
पर्निशा बी.के. (गुन्डी) र रेश्मा बान्तवा राईको निर्णायक मण्डलले अडिसनको फाइनल प्रतियोगिताको निर्णय गरेको थियो । लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र लावतीको प्रमुख आतिथ्यता तथा उपप्रमुख कृष्णकुमारी निरौला, पूर्व मेयर शंकर राई लगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको थियो ।
आयोजक आर.ए. डान्स क्रु स्टुडियोले कार्यक्रम पूर्ण रूपमा गैरनाफामूलक रहेको जानकारी दिँदै प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने स्थानीय सरकार, विद्यालय, निर्णायक, सहयोगी दाता तथा दर्शकहरूप्रति आभार व्यक्त गरेको थियो ।





