विराटचोकः मोरङको सुन्दरहरैंचा–१० स्थित सुकुना माध्यमिक विद्यालयले विद्यालयलाई थप सहज, अनुशासित र व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले विद्यार्थी क्लब, समूह तथा अभिभावकसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
विद्यालयले एक सूचना जारी गर्दै साउन १७, १८ र १९ गते तीन दिनसम्म विभिन्न समूहसँग अन्तरक्रिया गरिने जनाएको हो । सूचनाअनुसार विद्यालयमा सक्रिय रहेका विद्यार्थी क्लब तथा समूह, कक्षा प्रतिनिधि, मनिटर र अभिभावकसँग छलफल गरी विद्यालय सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयमा सुझाव सङ्कलन गरिने भएको हो ।
आज दिउँसो १ बजे S/k/n Confession and Meme, सुकुना बाल चेतना समूह, कानुन विद्यार्थी समाज, युवा रेडक्रस सर्कल, नेपाल स्काउट तथा FAN क्लबका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरिने विद्यालयले जनाएको छ । सहभागीको सङ्ख्या सम्बन्धित क्लब तथा समूहले आफैं निर्धारण गर्ने उल्लेख छ ।
भोलि साउन १८ गते बिहान ७ बजे कक्षा १२ विज्ञान संकायका सबै सेक्सनका मनिटर, कक्षा प्रतिनिधि तथा कक्षा ११ र १२ विज्ञान विषय समूहका अभिभावकसँग छलफल हुने भएको छ ।
साउन १९ गते बिहान ७ बजे कक्षा १२ व्यवस्थापन, कानुन, शिक्षा र होटल म्यानेजमेन्टका मनिटर तथा कक्षा प्रतिनिधि र कक्षा ११ र १२ का उक्त विषय समूहका अभिभावकसँग अन्तरक्रिया गरिने विद्यालयले जनाएको छ ।
भोलिदेखि कक्षा १० सम्मको नियमित पठनपाठन हुने तथा कक्षा ११ र १२ को पठनपाठनसम्बन्धी सूचना पछि प्रकाशित गरिने विद्यालयले जनाएको छ ।
सुकुना माविका शिक्षकले छात्रामाथि गरेको दुर्व्यवहारको विषय सार्वजनिक भएपछि विद्यालय सञ्चालन हुनुपूर्व विद्यालयले सम्बन्धित सरोकारवालासँग छलफल गर्न लागेको हो । विद्यालयमा अहिले बर्खे बिदा छ । सो बिदापछि भोलिदेखि विद्यालय सञ्चालन हुने भएको छ ।





