सम्पादकीय
पछिल्लो समय राष्ट्रिय सभा अघिल्ला निर्वाचनमा हारेका नेतालाई पठाउने वा कुनै महत्वपूर्ण भूमिका निर्वाह गर्न नसक्ने नेतालाई पठाउने थलोका रूपमा राष्ट्रिय सभा देखिन थालेको छ ।
अनुभवी राजनीतिज्ञ र विज्ञहरूलाई राष्ट्रिय सभामा ल्याउनुपर्नेमा त्यसको उल्टो अवस्था देखिन थाल्नु लाजमर्दाे विषय हो । राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन गरेर भाग लिँदा हरेक दलका नेताको व्यवस्थापन गर्ने थलोका रूपमा राष्ट्रिय सभा देखिएको हो । अघिल्ला तीन चुनावमा प्रतिनिधिसभा, प्रदेश सभा तथा स्थानीय तहका निर्वाचनमा जनताले अस्वीकृत गरेका व्यक्ति राष्ट्रिय सभामा निर्वाचित भएका छन् ।
हालै भएको राष्ट्रिय सभा निर्वाचनमा अघिल्लो राष्ट्रिय सभा निर्वाचनको भन्दा यस्तो प्रवृत्ति बढेको छ । यसले पछि योभन्दा झन् विकराल रुप नलिएला भन्न सकिन्नँ ।
२०७९ को प्रतिनिधि सभा चुनावमा झापा–३ मा पराजित कृष्णप्रसाद सिटौला कोशी प्रदेशबाट राष्ट्रिय सभामा विजयी भएका छन् ।
२०७९ को प्रदेशसभा सदस्यको चुनावमा रौतहट–३ (क) मा पराजित पूजा चौधरी मधेश प्रदेशबाट विजयी भएकी छिन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा दैलेखको नारायण नगरपालिकाको उपप्रमुखमा पराजित भएकी सावित्री मल्ल लुम्बिनी प्रदेशबाट निर्वाचित भएकी छिन् ।
०७४ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–६ मा पराजित भएका झक्कुप्रसाद सुवेदी लुम्बिनी प्रदेशबाटै राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।
यसरी हेर्दा राजनीतिक दलकै कारण राष्ट्रिय सभाको गरिमा घटेको देखिन्छ । विज्ञको सट्टा जनताबाट अस्वीकृत नेता व्यवस्थापन गर्ने थलो राष्ट्रिय सभा बन्दा यसको औचित्यमाथि नै प्रश्न चिह्न उठ्न सक्छ । यसतर्फ दलहरूले ध्यान दिन आवश्यक छ ।