विराटचोकः प्रिमियममा निष्कासन गरेको शेयरको पहिलो कारोबार मूल्य (ओपनिङ रेन्ज) जतिमा निष्कासन भएको हो त्यति नै दिइने भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सो रेन्ज दिने अन्तिम तयारीमा गरेको हो ।
यस अघि प्रिमियममा शेयर निष्कासन गर्नेले समेत कम्पनीको नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज नेप्सेले दिँदै आएको थियो । तर अब उसले उक्त रेन्ज परिवर्तन गरी जतिमा शेयर बाँडफाँड भएको हो त्यति नै मूल्य तय हुने जनाएको छ ।
बुक बिल्डिङ मार्फत निष्कासन भएको कम्पनीको शेयर हालसम्म सूचीकृत भएको छैन । अनुमति पाएका कम्पनीहरू निष्कासन प्रक्रियामा नै रहेका छन् । सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधि मार्फत शेयर निष्कासन अनुमति पाएका छन् ।
सर्वोत्तमले उद्योग प्रभावित र वैदेशिक रोजगारमा रहेकाहरूलाई शेयर निष्कासन खुला गरिसकेको छ । बुक बिल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्ता (क्युआइआइ) ले एउटा मूल्यमा शेयर पाउँछन् भने सर्वसाधारणले उनीहरूले भन्दा १० प्रतिशत कममा शेयर पाउने गरेका छन् । त्यस आधारमा दुई मूल्य भएकाले कुन मूल्यलाई लिने भन्ने निर्णय हुन बाँकी रहेको बताइएको छ ।