काठमाडौंः सिद्धार्थ नेपाल प्रिमियम लिगको दोस्रो सिजनका लिग चरणमा लगातार ६ खेलमा अपराजित रहँदै बाँकी खेलको नतिजा आउनुपूर्व नै सुदूरपश्चिमले शीर्ष दुईमा रहने पक्का गरेपछि पहिलो क्वालिफायर खेल्ने टिम बनेको छ ।
साबिक उपविजेत सुदूर पश्चिमले क्रिस लिनको पहिलो अर्धशतक र बलरहरुको उत्कृष्ट प्रदर्शनमा हिजो चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर वान खेल्ने पक्का गरेको हो । ६ खेल नै खेलेको चितवनको भने यो चौथो हार हो ।
हिजो चितवन हारेपछि तेस्रो स्थानमा रहेको विराटनगर किंग्स पनि लिगको एक खेल अगावै प्लेअफमा पुगेको छ । अब विराटनगरलाई लुम्बिनी बाहेक अरु टिमले भेट्न नसक्ने भएका छन् ।
सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा सबै विकेट गुमाएर १२० रनमा अलआउट भएको थियो । चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ रन बनाउँदा देव खनालले २८, ओपनर अर्जुन साउदले १६ र कप्तान कुशल मल्लले १५ रन बनाए ।
चितवनलाई अलआउट गर्न सुदूरपश्चिमका लागि पुनित मेहराले २.१ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इशान पाण्डेले १–१ विकेट लिए ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले क्रिस लिनको अर्धशतकमा २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको थियो ।
आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच हुने खेलमा जनकपुरलाई पराजित गरेमा लुम्बिनी पनि प्लेअफमा पुग्नेछ ।







