काठमाडौंः सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने दोस्रो टिम काठमान्डु गोर्खाज बनेको छ । शाहब आलमले शानदार बलिङ गर्दै ६ विकेट लिएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै काठमान्डुले प्लेअफमा स्थान सुरक्षित गरेको हो । पाँच खेलमात्रै खेलेको सुदूर पश्चिम रोयल्स अपराजित रहँदै यसअघि नै प्ले अफमा पुगिसकेको छ ।
लिग चरणका सबै ७ वटै खेल खेलिसकेको काठमान्डुले ५ खेलमा जीत हासिल गरेको छ । ६ खेल खेल्दा चौथो हार व्यहोरेको पोखराका लागि प्लेअफ सम्भावना कठिन बनेको छ ।
आजको खेलमा काठमान्डु गोर्खाजले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले पूरै २० ओभर खेल्दै १० विकेट गुमाएर १५२ रन मात्र बनाउन सकेको थियो ।
काठमान्डुका शाहब आलमले २० औं ओभरको सुरुवाती तीन बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए । शाहबले ४ ओभरमा २५ रन खर्चेर एक्लै ६ विकेट लिए । यस सिजनमा उनी ६ विकेट लिने पहिलो खेलाडी बनेका छन् ।
पोखराका लागि ऋषि धवनले अर्धशतक प्रहार गरे पनि पर्याप्त भएन । उनले ३१ बल खेल्दै ३ चौका र २ छक्का मदतमा सर्वाधिक ५४ रन बनाए । यस्तै धनञ्जय लक्षनले ३० रन जोडे ।
५५ रनमा ४ विकेट गुमाएको पोखराका लागि धवन र धनञ्जय लक्षन मिलेर पाँचौ विकेटका लागि ७६ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाएका थिए ।
लक्षनले २७ बल खेल्दै १ चौका र १ छक्काको मद्दतमा ३० रन जोडे । कप्तान कुशल भुर्तेलले २२ र ज्यासन रोयले १६ रन जोडे ।
बलिङमा काठमान्डुका शाहब आलमले ४ ओभरमा २५ रन खर्चेर ६ विकेट लिए । कप्तान करण केसी र सन्नी पटेलले दुईदुई विकेट लिए ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो ।







