केराबारीः मोरङको केराबारी गाउँपालिकाका ४ वटा विद्यालयमा अध्ययनरत छात्राहरुका लागि आत्मरक्षा तालिम शुरु भएको छ ।
ऊर्जा सामुदायिक विकासको आयोजनामा शुरु भएको तालिमको पालिका उपाध्यक्ष मनमाया मगरले हिजो सार्वजनिक मावि केराबारीमा उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई उद्घाटन गर्दै मगरले पछिल्लो समय किशोरीहरु यौनजन्य हिंसा तथा दुर्व्यवहारमा पर्ने गरेकाले आत्मरक्षाका थोरै भए पनि जानकारी होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
महिला तथा बालबालिका शाखामार्फत् विनियोजित बजेटअन्तर्गत रहेर कार्यक्रम शुरु गरिएको जनाउँदै यो कार्यक्रम प्रभावकारी भएमा आगामी आर्थिक वर्षमा थप बजेटसहित समावेश गरिने उहाँको भनाइ थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै केराबारी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष खगेन्द्र निरौलाले किशोरीहरुलाई सार्वजनिक स्थानमा तथा अन्य स्थानमा हुने दुर्व्यवहारको सामना गर्न कार्यक्रम उपयोगी हुने बताउनुभयो ।
सार्वजनिक माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक नवीन थापाले खराब नियतका व्यक्तिले आफूमाथि दुर्व्यवहारको प्रयास गरेमा तत्कालै आत्मरक्षा गर्न सहज होस् भनेर विद्यालयमा तालिमको आयोजना गरिएको बताउनुभयो । तालिममा सिकेको कला र सीपलाई आवश्यक परेको समयमा प्रयोग गर्न पनि उहाँले सुझाव दिनुभयो ।
छात्राहरुलाई प्रशिक्षक प्रकाश बस्नेतले सहजीकरण गर्नुभएको थियो ।
केराबारीका ४ वटा सामुदायिक विद्यालयमा २ दिनका दरले कार्यक्रम आयोजना गरिने ऊर्जा सामुदायिक विकासका कार्यक्रम संयोजक होमनाथ पोखरेलले जानकारी दिनुभयो ।
तालिममा सार्वजनिक माविमा अध्ययनरत कक्षा ८, ९ र १० मा अध्ययनरत ५० जना छात्राहरु सहभागी छन् ।




