काभ्रेः जिल्ला प्रशासन कार्यालय काभ्रेले बीपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन नपाउने गरी सूचना जारी गरेको छ ।
मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन, काभ्रे र सिन्धुलीका प्रमुख जिल्लाहरूबीचको छलफलपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर उक्त खण्डमा राति सवारी साधन चलाउन नदिने निर्णय भएको बताइएको छ ।
रोशी खोलामा आउन सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला अल्पकालीन अवधिका लागि रोक लगाउन सकिने निर्णय भएको बताइएको छ । बीपी राजमार्गको २८ किलोमिटरभन्दा लामो खण्ड रोशी खोलासँग जोडिएको छ ।
हिजो रोशी गाउँपालिका–७, घुमाउने चारसयबेंसी स्थित रोशीखोलामा आएको भेल बाढीमा पाँचवटा सवारी फस्दा ८९ जनाको ज्यान जोखिममा परेको थियो । सो घटनामा ती सवारीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सो घटना तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन समेतलाई मध्यनजर गरी साँझ ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारी आवागमन निषेध गरिएको हो ।




