गछिया । मोरङको गछिया ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
एशियन हाइवेका रुपमा पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति भइरहेका कारण सडक केही स्थानमा जोखिमपूर्ण बनेकाले सवारी चालकहरूलाई ट्राफिक नियम पालना गर्न आग्रह गर्दै सचेतनामूलक अभियान चलाइएको बताइएको छ ।
गछिया तथा आसपासका क्षेत्रमा ट्राफिक प्रहरीले मोटरसाइकल, स्कुटर र चारपाङ्ग्रे सवारीसाधनका चालकहरूलाई सडकमै रोक्दै सुरक्षित यात्रा, ट्राफिक नियम पालना तथा सवारी सञ्चालन सम्बन्धी जानकारी दिइरहेको छ ।
गछिया ट्राफिक प्रहरी कार्यालयका सहायक हवलदार भुवन बास्तोलाका अनुसार राजमार्ग निर्माणका कारण सडक साँघुरो र अप्ठ्यारो बनेकाले सम्भावित दुर्घटना न्यूनीकरण गर्न चालकहरूलाई सावधानी अपनाउन आग्रह गरिएको बताउनुभयो ।





