सिँधुवाः धनकुटाको महालक्ष्मी नगरपालिका केन्द्र जीतपुर जोड्ने रणनीतिक महत्त्वको सिँधुवा–जीतपुर सडक कालोपत्रे गर्ने काम शुरु भएको छ ।
नागेश्वर मार्गअन्तर्गत सिँधुवा–आहाले खण्डमा पर्ने सडकको कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य र स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो ।
धनकुटामा सबैभन्दा बढी दूध र बेमौसमी तरकारी उत्पादन हुने क्षेत्रमध्ये महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिका पर्छन् । तर, पक्की सडकको अभावमा वर्षायाममा कृषि उपज र दूध समयमै बजार पुर्याउन नसक्दा किसानले क्षति व्यहोर्दै आएका छन् । सडक कालोपत्रे भएपछि कृषि उत्पादनको ढुवानी सहज हुनुका साथै जीतपुरस्थित नगरपालिका केन्द्रसम्मको आवागमन पनि सहज हुने अपेक्षा गरिएको छ ।
पूर्वाधार विकास कार्यालय धनकुटाका अनुसार सिँधुवा बजारदेखि जीतपुरतर्फको पहिलो प्याकेजअन्तर्गत चार किलोमिटर सडक अस्फाल्ट कङ्क्रिट प्रविधिबाट कालोपत्रे गरिनेछ ।
१९ करोड ९९ लाख ९९ हजार रुपैयाँ लागत अनुमान गरिएको योजनाको ठेक्का ११ करोड ९ लाख २५ हजार रुपैयाँमा याशुकी÷भानुमती जेभीले पाएको छ । साढे पाँच मिटर चौडाइ रहने सडकमा नाली, कल्भर्ट, कजवे र पर्खालसमेत निर्माण गरिनेछ । २०८५ वैशाखभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
शिलान्यास समारोहमा भौतिक पूर्वाधार विकासमन्त्री आचार्यले कृषि र नागरिकको दैनिक जीवनसँग जोडिएका सडक प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
स्वास्थ्य मन्त्री पराजुलीले जीतपुर हुँदै लेगुवासम्मको बाँकी सडक खण्ड निर्माणका लागि थप बजेट सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य निरन राई, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख मञ्जु कार्की र छथर जोरपाटी गाउँपालिकाकी उपाध्यक्ष गीता गुरुङले सडक निर्माणले स्थानीय अर्थतन्त्र, कृषि बजार र नागेश्वर मन्दिरलगायत क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
निर्माण व्यवसायीका प्रतिनिधि किशोर भट्टराईले स्थानीय स्तरबाट आवश्यक सहयोग प्राप्त भए तोकिएको समयभित्रै गुणस्तरीय सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पूर्वाधार विकास मन्त्रालयका सचिव मिलन आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो ।





