विराटचोकः चालु आर्थिक वर्षको ९ महिनामा फाइनान्स कम्पनीले ७० लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७१.२२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको ९ महिनामा फाइनान्स कम्पनीहरुले १८ करोड ९६ लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए ।
९ महिनामा १२ फाइनान्स कम्पनी नाफामा छन् भने ३ कम्पनी घाटामा छन् । गत आर्थिक वर्षको ९ महिनाको अवधिमा ५ कम्पनी घाटामा थिए ।
चालु आर्थिक वर्षको ९ महिनामा सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सले २१ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९३ प्रतिशत बढी हो । ९ महिनामा सबैभन्दा धेरै प्रतिशत नाफा बढाउनेमा गुडविल फाइनान्स रहेको छ । सो कम्पनीले ५६५.७२ प्रतिशतले नाफा बढाएको छ ।
प्रोग्रेसिभ फाइनान्स, जानकी फाइनान्स र नेपाल फाइनान्स भने घाटामा छन् ।
नाफामा सुधार देखिए पनि खराब कर्जा अनुपात (एनपीएल)मा भने फाइनान्स कम्पनी कमजोर छन् । ५ कम्पनीले मात्रै एनपीएल घटाएका छन् भने १० कम्पनीको बढेको छ ।
मन्जुश्री फाइनान्स, रिलायन्स फाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र समृद्धि फाइनान्सले मात्रै खराब कर्जा अनुपात घटाएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको एनपीएल ५ प्रतिशतसम्म भएमा मात्रै उक्त संस्थाको वित्तीय अवस्था स्वस्थ रहेको मानिन्छ । मन्जुश्री, आइसीएफसी र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको मात्रै एनपीएल ५ प्रतिशत भन्दा कम छ ।
सबैभन्दा धेरै इपीएस मन्जुश्री फाइनान्सको २१.६० रुपैयाँ रहेको छ भने सबैभन्दा कम इपीएस समृद्धि फाइनान्सको ०.१२ रुपैयाँ रहेको छ । प्राग्रेसिभ फाइनान्स, जानकी फाइनान्स र नेपाल फाइनान्सको इपीएस भने ऋणात्मक रहेको छ ।
तेस्रो त्रैमाससम्ममा मन्जुश्री फाइनान्सको लाभांश क्षमता २२.६० प्रतिशत, आइसीएफसी फाइनान्सको १.३८ प्रतिशत र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको १.९४ प्रतिशत रहेको छ । बाँकी फाइनान्सको लाभांश क्षमता ऋणात्मक रहेको छ ।




