विराटचोकः अघिल्लो वर्षको साउनको तुलनामा नेपालका वाणिज्य बैंकहरूले यस वर्षको साउन महिनामा कुल खुद नाफा ४.२३ प्रतिशतले बढाएका छन् ।
गत आर्थिक वर्षको साउन महिनामा ८३८ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका यी बैंकहरूले चालु आर्थिक वर्षको साउन महिनामा ८७३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।
कृषि विकास बैंकको कीर्तिमानी वृद्धि
सबैभन्दा बढी चर्चा र ध्यान खिच्ने बैंक कृषि विकास बैंक बनेको छ । यस बैंकको खुद नाफा प्रतिशत अप्रत्याशित छ । गत वर्षको साउनमा ३८ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ३८ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा वृद्धिदर १०२५४.५१ प्रतिशत रहेको छ ।
नबिलको धेरै नाफा
समीक्षा अवधिमा सबैभन्दा धेरै खुद नाफा कमाउने बैंकको रूपमा नबिल बैंक पहिलो स्थानमा रहेको छ । नबिल बैंकले चालु आर्थिक वर्षको साउन महिनामा ८८ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत वर्ष ७१ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
ग्लोबल आइएमई बैंकले समीक्षा अवधिमा ८१ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष ७८ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७३ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
नाफा घटाउने बैंकहरू
नेपाल बैंक, हिमालयन बैंक र एनआईसी एशिया बैंक जस्ता ठूला तथा स्थापित संस्थाहरूको खुद नाफामा भने ठूलो गिरावट आएको छ । नेपाल बैंकले गत वर्ष साउन महिनामा ५५ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस वर्ष ३० करोड ८६ लाख रुपैयाँमात्रै नाफा कमाएको छ ।





