विराटनगरः न्युरो हस्पिटलले विश्व छारे रोग दिवसको अवसरमा सचेतनामूलक र्याली निकालेको छ । आज बिहान निकालिएको र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । न्युरो हस्पिटलबाट शुरु भएको र्यालीले विराटनगर महानगरपालिकाका विभिन्न टोल तथा सडकको परिक्रमा गरेको थियो ।
चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको र्यालीका सहभागीहरूले ‘छारे रोगबारे घर–घर र टोल–टोलमा कुरा गरौं’, ‘छारे रोग सरुवा रोग होइन’, र ‘समयमै उपचार गरे छारे रोग निको हुन्छ’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए ।
न्युरो हस्पिटलले विगत २२ वर्षदेखि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको छ । अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष विश्व छारे रोग दिवसका अवसरमा यस्ता सचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै आएको अस्पतालले जनाएको छ । ‘समयमै उपचार गरौं, छारे रोगबाट बचौं’ भन्ने मुख्य नाराका साथ अस्पतालले र्याली निकालेको हो ।





