विराटचोकः सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले पार्टीले आफ्ना वर्तमान कमी–कमजोरीहरूलाई समयमै नसच्याए आगामी निर्वाचनमा पार्टीको अस्तित्व समाप्त हुन सक्ने बताएका छन् ।
हालै सम्पन्न निर्वाचनमा पार्टीले निकै कमजोर नतिजा व्यहोरेपछि नेतृत्व र नीतिबारे गम्भीर समीक्षाको माग उठिरहेका बेला बास्कोटाले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै यस्तो टिप्पणी गरेका हुन् ।
पाँच वर्षअघि नै आफूले तत्कालीन नेकपाको ‘क्लाईमेक्स’ (उत्कर्ष) र ‘कोल्याप्स’ (पतन) को समयबारे आँकलन गरेको भन्दै वामपन्थी शक्तिहरू एकजुट हुँदा जनतामा अभूतपूर्व उत्साह देखिए तापनि आन्तरिक जग कमजोर हुँदा एकता टिक्न नसकेको उल्लेख गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, “पाँच वर्ष अघि मैले भनेको थिएँ– यो नेकपाको क्लाईमेक्स र कोल्याप्सको समय हो । वाम पार्टी मिलेका थिए र जनतामा अभूतपूर्व उत्साह थियो । तर विचार, संगठन र व्यवहार दुई मितको अधीनस्थ थिए र एकताको आधार कमजोर । सोभियत संघबाट सिकिएन र चिनियाँ नक्कल सुपरफ्लप भयो । सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ ।”








