विराटचोकः आज अन्तरराष्ट्रिय महिला दिवस । विश्वभर विभिन्न कार्यक्रमका साथ आठ मार्चको दिन महिला दिवस मनाइन्छ । राजनीतिक घटनाक्रमसँग जोडिएको महिला दिवस आज नेपालमा भने पहिले झैँ विभिन्न कार्यक्रम गरी मनाइएन ।
फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य चयन निर्वाचनको मत परिणामको व्यस्तताका कारण यस पटकको महिला दिवस औपचारिक कार्यक्रम गरी मनाइएन ।
निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आइसक्न लागेको हुनाले प्रत्यक्षतर्फ कति महिला सांसद हुने भए भनेर यहाँ प्रस्तुत गरिएको छ ।
यस पटकको निर्वाचनको पहिलो जीत नै महिलाबाट भएको थियो । काठमाडौं क्षेत्र नम्बर १ बाट रास्वपाकी उम्मेद्वार रञ्जु न्यौपाने (दर्शना) ले पहिलो जीत हासिल गरेकी थिइन् ।
प्रतिनिधिसभा सदस्य चुनावमा अहिलेसम्म १५० क्षेत्रको अन्तिम मतपरिणाम आउँदा १४ जना मात्रै विजयी भएका छन् । यसरी निर्वाचित हुने उम्मेदवारमा १३ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हुन् भने एक जना नेपाली कांग्रेसकी हुन् ।
निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका १६५ क्षेत्रका लागि ३ हजार ४६८ जनाको उम्मेद्वारी परेको थियो । तीमध्ये ३९६ जना महिला उम्मेदवार थिए । जसमा दलबाट २३५ उम्मेद्वार बनेका थिए ।
नेपाली कांग्रेसले ११ जना महिला उम्मेद्वारलाई चुनावमा खडा गर्दा एक जनाले जितेकी छिन् ।
यस्तै नेकपा (एमाले)ले १० जना महिलालाई उम्मेदवार बनाएको थियो । तर, अहिलेसम्म एक जना पनि महिला उम्मेदवारले जितेका छैनन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ११ जना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १० जना महिला उम्मेद्वारलाई खडा गरेको भए पनि कसैले पनि जीत हासिल गरेनन् ।
यी हुन् निर्वाचित महिला सांसद
झापा क्षेत्र नम्बर २ बाट रास्वपाकी इन्दिरा रानामगर ६० हजार ११० मतसहित विजयी भएकी छिन् । उनले निवर्तमान सभामुखसमेत रहेका एमालेका देवराज घिमिरेलाई ४८ हजार ७४२ मतान्तरले पछि पारेकी हुन् ।
चितवन क्षेत्र नम्बर ३ बाट रास्वपाकी सोविता गौतमले नेकपाकी रेनु दाहाललाई भारी मतान्तरले पछि पारिन् । सोविताले ५९ हजार २७७ मत ल्याउँदा रेनुले २० हजार ६१५ मत ल्याइन् ।
मोरङ क्षेत्र नम्बर ६ बाट ५५ हजार ५१३ मतसहित रास्वपाकी रुविना आचार्यले कांग्रेसका शेखर कोइरालालाई ४२ हजार ६६३ मतान्तरले पछि पारिन् ।
झापा क्षेत्र नम्बर १ बाट ४५ हजार ६८० मतसहित रास्वपाकै निशा डाँगीले नेपाली कांग्रेसका उम्मेद्वार केशवराज पाण्डेलाई झण्डै ३५ हजार मतान्तरले पछि पारिन् ।
सर्लाही– १ बाट नीतिमा भण्डारी कार्की ४४ हजार १८१ मतसहित विजयी हुँदा कांग्रेसका उम्मेद्वार शम्भुलाल श्रेष्ठले ७ हजार ८७१ मत पाए ।
ललितपुर– ३ बाट तोसिमा कार्की ४३ हजार ९६ मतसहित विजयी हुँदा निकटतम प्रतिष्पर्धी कांग्रेसका उम्मेद्वार जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरे ।
धादिङ– १ बाट एमालेका भूमिप्रसाद त्रिपाठीलाई पराजित गर्दै रास्वपाकी आशिका तामाङ ३९ हजार १२८ मत ल्याएर विजयी भइन् ।
सप्तरी– १ मा रास्वपाकै पुष्पाकुमारी चौधरी ३८ हजार १९५ मतसहित विजयी भइन् ।
कास्की– ३ मा बिना गुरुङ ३७ हजार ७५० मतसहित विजयी हुँदा कांग्रेसका उम्मेदवार मनोज गुरुङले १२ हजर ७८० मत प्राप्त गरे ।
मोरङ– ५ बाट आशा झा ३० हजार ४३४ मतसहित विजयी हुँदा मुख्य प्रतिष्पर्धी नेपाली कांग्रेसका फूलकुमार लालवानीले ९ हजार ४१५ मत प्राप्त गरे ।
रास्वपाकी गौरीकुमारी महतो महोत्तरी– ४ मा ३० हजार १३२ मत ल्याएर विजयी भएकी छिन् ।
कैलाली– १ बाट रास्वपाकी कोमल ज्ञवाली १७ हजार ८२६ मतसहित विजयी हुँदा कांग्रेसका उम्मेदवार जनकराज चौधरीले १२ हजार ८७६ मत प्राप्त गरे ।
काठमाडौं– १ बाट रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मतसहित विजयी हुँदा निकटतम प्रतिष्पर्धी कांग्रेसका प्रवल थापाले ६ हजार ३६४ मत पाए ।
कांग्रेसबाट बासना थापा विजयी
नेपाली कांग्रेसबाट एक जना मात्रै महिला उम्मेदवारले चुनाव जितेकी छिन् । दैलेख– १ बाट बासना थापाले १२ हजार ३७२ मतसहित चुनाव जित्दा मुख्य प्रतिष्पर्धी नेकपा एमालेका उम्मेद्वार रवीन्द्रराज शर्माले ११ हजार ७९६ मत ल्याए ।







