काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको ५ ओभरको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्सलाई ३५ रनले पराजित गरेको छ ।
तीन खेल खेल्दा पहिलो जीत हात पारेको विराटनगरले २ अंक जोड्दै अंकको खाता खोलेको छ ।
१०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ५ ओभरमा २ विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो ।
विराटनगरका आन्द्रे रसेलले ब्याटिङ, बलिङ र फिल्डिङमा अलराण्ड प्रदर्शन गरेका थिए । रसेलले ब्याटिङमा अविजित २९ रन बनाउनुका साथै बलिङमा १ विकेट र फिल्डिङमा १ क्याच लिएका थिए ।
सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । ओपनर सैफ जैबले १० बलमा २ छक्का प्रहार गर्दै सर्वाधिक १७ रन बनाए । यस्तै आरिफ शेखले पनि अविजित १७ रन बनाए ।
बलिङमा विराटनगरका लागि २ ओभर बलिङ गरेका आन्द्रे रसेलले जम्मा ८ रन मात्र दिएर १ विकेट लिए । यस्तै एन्जेलो म्याथुजले १ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।
पहिलो बलमा विराटनगरका आन्द्रे रसेलले ओपनर शेरफान रुथरफोर्डलाई आउट गर्दै टिमलाई सफलता दिलाएका थिए । वान डाउनमा आएका कप्तान दीपेन्द्र सिंह ऐरि पनि दोस्रो ओभरमा आउट भएपछि सुदूरले ७ रनमै २ विकेट गुमायो ।
ओपनर सैफ जैबले एक छेउबाट प्रायस गरेपनि पर्याप्त भएन ।
त्यसअघि कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको थियो ।





