इटहरीः युवाहरूको नेतृत्व क्षमता अभिवृद्धि, व्यक्तित्व निर्माण तथा आत्मविश्वास विकास गर्ने उद्देश्यसहित सुनसरीको इटहरीमा १५ औँ राष्ट्रिय जुनियर जेसीज लिडर्स एकेडेमी शुरु भएको छ ।
हिजो शुरु भएको एकेडेमीमा देशभरका ३५ वटा जुनियर जेसीज शाखाका करिब दुई सय युवाको सहभागिता रहेको छ । राष्ट्रिय स्तरको सो एकेडेमी आज समापन हुनेछ ।
इटहरीस्थित सत्सङ्ग प्यालेसमा आयोजना गरिएको एकेडेमीको उद्घाटन जुनियर जेसीज इटहरीकी अध्यक्ष दिव्या दाहालको अध्यक्षता तथा कोशी प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सपना परियारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
एकेडेमीमा युवाहरूको नेतृत्व क्षमता, सकारात्मक सोच, प्रभावकारी सञ्चार, आत्मविश्वास अभिवृद्धि तथा व्यक्तित्व विकासलगायतका विषयमा प्रशिक्षण प्रदान गरिँदैछ । कार्यक्रममा प्रमुख प्रशिक्षक सेवक चापागाईं, लक्ष्मी बराल र प्रवेश दुलालले विभिन्न विषयमा प्रशिक्षण तथा सहजीकरण गरिरहनुभएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि राज्यमन्त्री परियारले देशको भविष्य युवाहरूको हातमा रहेको बताउनुभयो । युवाहरू सक्षम, जिम्मेवार र नेतृत्वदायी भूमिकामा अगाडि बढ्न सके मात्रै मुलुक समृद्धिको बाटोमा अघि बढ्ने उहाँको भनाइ थियो ।
नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीले राष्ट्रिय जुनियर जेसीज एकेडेमीलाई औपचारिक कार्यक्रमका रूपमा मात्रै सीमित नराखी युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनको भावना अभिवृद्धि गर्ने अभियानका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।
जुनियर जेसीज इटहरीकी अध्यक्ष दिव्या दाहालले संस्था स्थापना भएको तीन वर्षमै राष्ट्रियस्तरको प्रतिष्ठित कार्यक्रम आयोजना गर्ने अवसर प्राप्त हुनु गौरव र उत्साहको विषय भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल जेसीजकी राष्ट्रिय निवर्तमान अध्यक्ष रजनी थापा, उद्योग वाणिज्य संघ इटहरीकी अध्यक्ष गायत्री कटवाल भण्डारी, पूर्वअध्यक्ष भीमबहादुर पौडेल, इटहरी लेडी जेसीजकी अध्यक्ष यमुना बुढाथोकी, जुनियर जेसीजकी एकेडेमी निर्देशक अभिज्ञा पौडेल, पूर्वअध्यक्षहरू भेषजा काफ्ले र इन्दिरा काफ्ले तथा कस्तुरी कलेजका प्राचार्य कमलेश शर्मा पौडेललगायतको उपस्थिति रहेको थियो ।
एकेडेमीको अन्तिम दिन आज बिहान जुम्बा कार्यक्रमबाट गतिविधि शुरु गरी नेतृत्व विकास तालिम, अनुभव आदानप्रदान, प्यानल छलफल तथा समापन कार्यक्रम गरिने आयोजकले जनाएको छ ।





