विराटचोकः धार्मिक आस्था, संस्कृति र सनातन धर्मको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको राष्ट्रव्यापी मेची–महाकाली श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा आज मोरङको सुन्दरहरैंचामा आएपछि स्वागत गरिने भएको छ ।
रथयात्राको स्वागतका लागि सुन्दरहरैँचा नगरपालिकामा विशेष कार्यक्रम आयोजना गरिएको छ । बिहान साढे ८ बजे बलिया चोकमा रथयात्राको स्वागत गरिने आयोजकले जनाएको छ । त्यसपछि प्रत्येक चोकमा भेला भएका श्रद्धालुले रथयात्राको स्वागत गर्नेछन् । विभिन्न भजन समूहले चोकचोकमा श्रद्धालु उपस्थित गराउने भएका छन् ।
रथयात्राका अवसरमा सम्पूर्ण नगरवासीलाई श्रद्धा, भक्ति र उत्साहका साथ उपस्थित हुन आयोजकले आग्रह गरेको छ । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस यात्राले सनातन धर्म, संस्कृति र धार्मिक आस्थाको संरक्षण तथा प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास लिइएको छ ।
परमश्रद्धेय कमलनयनाचार्य श्रीजी महाराजको पावन सत्सङ्कल्पमा सञ्चालित श्रीमुक्तिनाथपीठले वेदविद्याश्रमलाई विशिष्टतम महाविद्यालयका रूपमा अभिवृद्धि गर्दै श्रीगजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापना गर्ने पवित्र उद्देश्य राखेको छ ।
सो अभियानअन्तर्गत नवलपरासीको त्रिवेणीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा २०८३ मंसिर १ देखि २१ गतेसम्म अष्टाचल धनधान्याञ्चल श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ–२०८३ आयोजना हुने भएको छ । सोही धार्मिक महायज्ञको पूर्वतयारी तथा धार्मिक जागरणको सन्देश फैलाउने उद्देश्यले मेची–महाकाली रथयात्रा सञ्चालन भइरहेको हो ।
रथयात्रा स्वागत व्यवस्थापन सुन्दरहरैंचा नगर समितिका संयोजक नारायण कार्कीले सम्पूर्ण नगरवासीलाई कार्यक्रममा सहभागी भई भगवान् श्रीमुक्तिनाथको पावन रथयात्राको भव्य स्वागत गर्न अनुरोध गर्नुभएको छ ।
कात्तिक ८ गते मुक्तिनाथ मन्दिर मुस्ताङबाट शुरु भएको रथयात्रा ३० गते समापन हुनेछ ।





