विराटचोकः कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल निर्वाचित हुनुभएको छ । २६ वर्षीय खानलले सो क्षेत्रबाट १९ हजार ५७ मत ल्यायी विजयी हासिल गर्नुभयो ।
निर्वाचनमा निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले भन्दा खनालले ७ हजार १०८ मतान्तर ल्याउन सफल हुनुभयो । अन्तिम मत परिणामअनुसार चौधरीले ११ हजार ९४९ मत ल्याउनुभएको छ ।
एमालेका सूर्यबहादुर थापाले ७ हजार ८८६ मत ल्याउँदा नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले ७ हजार २१३ र नेपाली कम्युनिष्ट पार्टीका नन्दबहादुर साउदले ४ हजार ३६९ मत ल्याउनुभएको छ ।
अन्य उम्मेद्वारले ७४५ भन्दा कम मत ल्याउनुभएको छ ।
यसअघि कैलाली १ मा रास्वपाकी कोमल ज्ञवाली, कैलाली ३ मा रास्वपाकै जगतप्रसाद जोशी, कैलाली ४ र कैलाली ५ मा पनि रास्वपाकै क्रमशः खेमराज कोइराला र आनन्दबहादुर चन्द विजयी भएका छन् ।
अहिलेसम्म विजयी भएका उम्मेद्वारमध्ये खनाल नै सम्भवतः सबैभन्दा कान्छा हुन् । प्रत्यक्षतर्फको अन्तिम मत परिणाम र समानुपातिकतर्फको मत परिणाम र विजेताको नाम सार्वजनिक भएपछि मात्रै सबैभन्दा कान्छो प्रतिनिधिको आधिकारिक पुष्टि हुनेछ ।
अघिल्लो निर्वाचनमा कैलाली २ बाट नागरिक उन्मुक्ति पार्टीका अरुनकुमार चौधरी २१ हजार ८७१ मत ल्याएर विजयी हुनुभएको थियो ।







