विराटचोकः बुद्ध एयरका सञ्चालक तथा गतिशील लोकतान्त्रिक पार्टी (गतिलो)का केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले राजनीतिबाट बाहिर गई स्वतन्त्र नागरिकको रूपमा समाजसेवी अभियानमा समर्पित हुने घोषणा गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिँदै बस्नेतले वि. सं. २०८२ भदौ २३ र २४ मा देशभर उत्पन्न जनविद्रोह र ७६ जना नवयुवाको शहादतले आफूमा गहिरो प्रभाव परेको बताउनुभएको छ । उहाँका अनुसार, ती घटनाहरू भ्रष्टाचार, बेरोजगारी, गरिबी, शोषण र बेथितीविरुद्धको आवाज थिए । नवयुवाहरूका सपना—सुशासन, समान अवसर, सम्मानजनक रोजगारी र समतामूलक समाज उनका लागि प्रेरणाको स्रोत बनेको उहाँको भनाइ छ ।
बस्नेतले अब आफ्नो समय, ऊर्जा र सीपलाई विश्लेषण, छलफल, समाधान र सिर्जनामा केन्द्रित गर्ने योजना बनाएको जनाउनुभएको छ । आफ्नो प्राथमिक ध्यान केन्द्रहरूमा स्थानीय र प्रदेश सरकारको सक्षम व्यवस्थापन, दिगो पर्यटन, व्यवसायमुखी कृषि, र गुणस्तरीय माध्यमिक शिक्षामा रहने बताउनुभएको छ ।
त्यसैगरी, उहाँले गतिशील लोकतान्त्रिक पार्टी र अन्य लोकतान्त्रिक दलहरू आफ्नो सिद्धान्त, मूल्य र एजेन्डाप्रति प्रतिबद्धता रहून् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।







