विराटचोकः सुन्दरहरैंचा साइकल राइडर्सको आयोजनामा शनिबार मोरङको सुन्दरहरैंचा– १० स्थित द राइजिङ स्कुलको सभाहलमा भएको गजल मेहफिलमा जाजरकोट, धनकुटा, मोरङ र झापाका गजलकारले आफ्ना सुन्दर गजल वाचन गरे ।
मेहफिलमा जाजरकोटका प्रकाश किरण, धनकुटाका अनन्त अनुराग, मोरङकी अस्मिता भट्टराई र झापाका केशव भट्टराईले आफ्ना गजल वाचन गरेका थिए । दुई चरणमा गजल वाचन गरेका गजलकारले प्रत्येक चरणमा आफ्ना तीनतीन वटा गजल वाचन गरेका थिए ।
गजल वाचन तथा गायन गर्नुभएका प्रत्येक गजलकारका गजलमा स्रोताले बारम्बार हुटिङ गर्नुका साथै ‘वान्स मोर…, वान्स मोर…’ को ध्वनि गुञ्जाएका थिए । खचाखच भरिएको हलका स्रोता मन्त्रमुग्ध भएर पूरै अवधिभर बसेर गजल श्रवण गरेका थिए ।
कार्यक्रममा चितवनको भरतपुर निवासी गजलकार पुष्प अधिकारी ‘अञ्जली’लाई सम्मान पनि गरिएको थियो । गजलको क्षेत्रमा अधिकारीले पुर्याएको योगदानको कदर गर्दै प्रमाणपत्र, दोसल्ला र नगदद्वारा अधिकारीलाई सम्मान गरिएको थियो । सम्मानित अधिकारीले गजललेखन परम्परको विगतदेखि हालसम्मको अवस्था जानकारी गराउनुका साथै आफ्ना केही गजल वाचन गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण साहित्यकार विवश बलिभद्र कोइरालाले गर्नुभएको थियो ।
साहित्यकार मनु मञ्जिलको प्रमुख आतिथ्यता तथा साहित्यप्रेमी पूर्णप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा द राइजिङ इङ्लिस स्कुलको व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा झापा, मोरङ र सुनसरीका साहित्यप्रेमीको उल्लेखनीय उपस्थिति रहेको थियो ।





