भरतपुरः चितवन मेडिकल कलेजमा नेपालमा नै पहिलो पटक आयोजना गरिएको रोबोटिक सर्जरी गोष्ठीमा संलग्न भएका चिकित्सकहरुले कलेजको शल्यक्रिया थिएटरमा रोबोर्टिक प्रविधिबाट गरिएको शल्यक्रिया कन्फ्रेन्स हलमा बसेर उत्सुकतापूर्वक प्रत्यक्ष रुपमा हेरेका छन् ।
क्यान्सर अस्पतालका पूर्वअध्यक्ष एवम् वरिष्ठ युरोलोजिष्ट डा. निर्मल लामिछानेका अनुसार बरामीहरूका लागि रोबोटिक शल्यक्रिया निकै फाइदाजनक हुन्छ । विशेष गरी रोबोर्टिक सर्जरी प्रोस्टेटको क्यान्सरको उपचारमा बढी लाभदायक हुने बताइएको छ ।
मिर्गौलाको नली साँघुरो भएका एक बिरामीको रोबोर्टिक प्रविधिको सहायताबाट शल्यक्रिया गरिएको प्रत्यक्ष देखाइएको थियो । रोबोटको सहायताले शल्यक्रिया गर्दा १० गुणा राम्रो हुने र क्यान्सरका बिरामीका लागि यो प्रविधि अझ बढी प्रभावकारी हुने हुनाले यसलाई सुलभ बनाउन सके धेरैले लाभ लिन सक्ने बताइएको छ ।
कन्फ्रेसमा भरतपुर, काठमाडौं, विराटनगर, धरान, पोखराका विभिन्न अस्पतालका चिकित्सकसहित भारतको मेदान्त अस्पतालका जीआई सर्जन, यूरो सर्जन, स्त्रीरोग विशेषज्ञ, अंको सर्जन, एनेस्थेसियोलोजिस्ट,जनरल सर्जन तथा रेजिडेन्टहरू र नर्सहरु सहभागी थिए ।
नेपालमा रोबोटिक सर्जरी भित्र्याउने चितवन मेडिकल कलेज दोस्रो अस्पताल हो ।
नेपालमा सर्जनहरुले आफैंले प्रत्यक्ष संलग्न भएर सर्जरी गर्ने गरेको भए पनि रोबोटको सहायताले गरेको सर्जरी उनीहरुकै लागि भने रूचिको विषय बनेको छ ।







