विराटचोकः कात्तिक महिनाको तुलनामा मंसिर महिनामा बैंकहरुको औसत ब्याजदर घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर, कात्तिक महिनाको तुलनामा मंसिर महिनामा ०.१६ प्रतिशतबिन्दुले घटेको छ । कात्तिकमा बैंकहरुले औसतमा ५.२० प्रतिशतबिन्दुका दरले ब्याज दिएका थिए । मंसिरमा भने सो घटेर ५.०४ प्रतिशतबिन्दुमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दती निक्षेपको ब्याजदर ०.०७ प्रतिशतबिन्दुले घटाएका छन् ।
वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि प्रकाशन गरेको नयाँ ब्याजदरको सूचनाअनुसार २० मध्ये १० वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १० बैंकहरुले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
एनआईसी एशिया, सिद्धार्थ, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, सिटिजन्स, नबिल, नेपाल एसबिआई, सानिमा र कुमारी बैंकले मंसिर महिनाका लागि यस्तो निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन् । बाँकी १० बैंकहरुले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
मंसिर महिनाका लागि सबैभन्दा बढी ब्याजदर एनआईसी एशिया बैंकले घटाएको छ । सो बैंकले कात्तिकको तुलनामा ०.७५ प्रतिशतविन्दुले ब्याजदर घटाएको हो । मंसिर महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा एनआईसी एशियाले अधिकतममा ५.७५ प्रतिशतका दरले ब्याज दिने भएको छ । सो बैंकले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि घटाएको छ ।
व्यक्तिगत मुद्दती निक्षेपमा मंसिर महिनामा सबैभन्दा बढी ब्याज ग्लोबल आइएमई बैंकले दिने भएको छ । सो बैंकले अधिकतममा ६ प्रतिशतसम्म ब्याज दिनेछ । सबैभन्दा कम ब्याज भने स्ट्याण्डर्ड चार्टर्ड बैंकल दिनेछ । उक्त बैंकले अधिकतममा ४.७ प्रतिशत ब्याज दिने भएको छ ।
अर्थतन्त्रमा आएको शिथिलता र निजी क्षेत्रको मनोबल नबढ्दा बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम थुप्रिँदै गएको छ । एक वर्ष अघिदेखि बैंकको ब्याजदर एकल अङ्कमा र निरन्तर घट्दो क्रममा छ ।







