विराटचोकः यस साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ । गत साता २५९६.१२ अङ्कमा बन्द भएको नेप्से यो साता १.९४ प्रतिशत अर्थात ५०.३९ अङ्क घटेर २५४५.७३ अङ्कमा रोकिएको छ ।
सातामा ५ दिन खुलेको शेयर बजारमा २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो । यो साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औसतमा ६ अर्ब १० करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औसतमा ४ अर्ब ८ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
साताभरमा होटल तथा पर्यटन उपसमूहको परिसूचक १.०८ प्रतिशत बढेको छ । बाँकी सबै १२ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.९६ प्रतिशत घटेको छ ।
यो साता ७ कम्पनीको ५ करोड ३ लाख ३७ हजार ५५० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । झापा इनर्जी, बुङ्गल हाइड्रो, बन्दीपुर केबलकार एण्ड टुरिजम र स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओ नेप्सेमा सूचीकृत भएको हो । बरुण हाइड्रोपावरको हकप्रद शेयर र शाइन रेसुङ्गा डिबेञ्चर र ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ पनि नेप्सेमा सूचीकृत भएको छ ।
साताभरमा माबिलुङ्ग इनर्जीको शेयरमूल्य सर्वाधिक ३४.३३ प्रतिशत बढेको छ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक २१.८५ प्रतिशत घटेको छ ।
नेप्सेको कुल बजार पूँजीकरण साढे १ प्रतिशतभन्दा बढी घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ४५ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ७२ करोड रुपैयाँ घटेर ४२ खर्ब ७३ अर्ब रुपैयाँमा झरेको छ ।







