काठमाडौंः गरिमा विकास बैंकले आफ्नो १९ औँ वार्षिकोत्सवको अवसरमा मंसिर ६ गते ‘गरिमा रोड रेस’को दोस्रो संस्करण आयोजना गर्ने भएको छ ।
प्रतियोगिता खुला पुरुष\ महिला १० किलोमिटर, कर्पोरेट पुरुष \महिला ५ किलोमिटर र भेट्रान पुरुष \महिला ५ किलोमिटर दूरीमा दौड हुने भएको छ । भेट्रानमा पुरुष ५० वर्षमाथि र महिला ४५ वर्षमाथि उमेर समूहबीच प्रतिस्पर्धा हुने भएको हो । भेट्रान विधा यसै संस्करणदेखि थपिएको हो । करिब १ हजार प्रतियोगी सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
दौडको खुलातर्फका विजेताले ५० हजार, दोस्रोले ३५ हजार, तेस्रोले २० हजार, चौथोले १५ हजार र पाँचौँले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । कर्पोरेट र भेट्रानमा शीर्ष ५ स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार, १४ हजार, १० हजार र ७ हजार नगद पुरस्कार हात पार्नेछन् ।
काठमाडौंको बालुवाटारस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट शुरु हुने दौड विभिन्न भागको परिक्रमा गरी बालुवाटारमै पुगेर टुङ्गिने छ । प्रतियोगितालाई थप व्यवस्थित बनाउन आयोजकले खल्ती एपसँग सहकार्य गरेको छ । इच्छुक धावकले कात्तिक २८ देखि मंसिर ४ गतेसम्म खल्ती एप मार्फत २० रुपैयाँ शुल्क तिरेर नाम दर्ता गर्न सक्ने बताइएको छ ।







