बेलबारीः कोसी साहित्य कला परिषद् नेपाल ले वरिष्ठ साहित्यकार हर्कमान तामाङ संयोजक रहेको पाँच सदस्यीय सल्लाहकार समितिको चयन गरेको छ ।
शनिबार बेलबारीमा बसेको बैठकले सो निर्णय गरेको हो । सल्लाहकार समितिमा नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडा (सुनसरी), वरिष्ठ कवि तथा आख्यानकार छवि वैरागी घिमिरे (मोरङ), वरिष्ठ साहित्यकार केशव आचार्य (झापा) र कवि तथा समीक्षक मिश्र बैजयन्ती (मोरङ) रहनुभएको छ ।
आवश्यकता र औचित्यका आधारमा सल्लाहकार थप्दै जाने पनि निर्णय गरिएको संस्थाका सचिव नवराज पोखरेल ‘नवशिला’ ले जानकारी दिनुभएको छ । संस्थाले संस्थापकहरूको निक्र्योल तथा वार्षिक कार्यक्रम तयसमेत गरेको छ ।
सो बैठकले भाषा\साहित्य तथा कला\संस्कृति विभागअन्तर्गत (भाषा, साहित्य तथा कला संस्कृति) विभिन्न ३ ओटा विभागको गठन गर्नुका साथै ती विभागहरूको संयोजकसमेत तोकेको छ । भाषा विभागमा वासु अधिकारी (मोरङ), साहित्य विभागमा रोमु अधिकारी (सुनसरी) र कला संस्कृति विभागमा राज यात्री लम्साल (मोरङ) संयोजक तोकिएका छन् । हरेका विभागमा भाषा, साहित्य तथा कलाका क्षेत्रमा काम गरिरहेका ११\११ जना व्यक्तित्वहरूलाई मनोनयन गरिएको छ । आवश्यकता र औचित्यका आधारमा विभागमा सदस्य थप्दै जाने निर्णय भएको संस्थाका अध्यक्ष केशु विरही बताउनुहुन्छ ।
भाषा, साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा केही फरक तर राम्रो काम गर्ने उद्देश्यका साथ स्थापना गरिएको यस संस्थाले यो वर्ष प्रकाशन, लोकार्पण, विमर्शलगायतका विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष विरहीले बताउनुभयो ।







