Friday, December 5, 2025
Homeधर्म र संस्कृतिआज कुष्माण्ड नवमी पर्व मनाइँदै

आज कुष्माण्ड नवमी पर्व मनाइँदै

विराटचोकः आज विशेष गरी मधेस प्रदेशका जिल्लामा अमलाको फेदमा सामुहिक भोजन गर्दै कुष्माण्ड नवमी पर्व मनाइँदैछ ।

कुष्माण्ड नवमीलाई अक्षय नवमी, धातृ (अमला) नवमी र इच्छा नवमी पनि भनिन्छ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने कुष्माण्ड नवमीमा सामुहिक भोजन गर्दै रमाइलो गरिन्छ ।

यस पर्वमा अमला (धातृृ) को रूखको फेदमा खाना खाने मैथिल परम्परा छ । यसका लागि एक दिन पहिलेदेखि नै सामुहिक भोजनको तयारी हुन्छ । यो पर्वमा घर नजिकै, बगैँचा वा वनक्षेत्रमा नै रहेको अमलाको रूखका फेदमा खानेकुरा पकाएर त्यहीँ खाने चलन छ । घर नजिक आँगन वरपर नै अमलाको रूख हुनेहरू दिनभरि विभिन्न परिकार पकाएर रात परेपछि सपरिवार खान्छन् । खाना पकाउँदा वा खाने समयमा अमलाका पात खानेकुरामा पर्दा राम्रो हुने जनविश्वास छ ।

पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी) सहित साकाहारी खानेकुरा मात्र पकाउने र खाने परम्परा छ । पर्व विशेषले अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउन सबैलाई उत्प्रेरित गर्न यो पर्व परम्परा चलेको बताइन्छ ।

अमला अत्यन्त गुणकारी फल मानिन्छ । जाडोयाममा यसको सेवनले कैयौँ रोगसँग जुध्ने क्षमता बढाउँछ । यही हितकारी सन्देशका लागि पूर्वजहरूले यो पर्व परम्परा चलाएका भन्ने विश्वास गरिन्छ ।

आज कात्तिक शुक्ल नवमीका दिन भगवान् श्रीकृष्णले कुष्माण्डक दैत्यलाई संहार गरेर कंस बध गर्नपूर्व मथुरा, वृन्दावन र गोवद्र्धन पर्वत क्षेत्र परिक्रमा गरेको विश्वास गरिन्छ । यसैले यस दिनलाई कुष्माण्ड नवमी भनिएको संस्कृतिविद्को भनाइ छ । कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रूखमा बस्ने हिन्दू मैथिल जनविश्वास छ । यस दिन भगवान् विष्णुको आराधनाले कहिल्यै नाश नहुने पुण्य प्राप्त हुने हिन्दू मैथिल मान्यता छ । यसैले यो दिनलाई अक्षय नवमी भनिन्छ । यसैगरी, श्रीविष्णुको आराधनाले इच्छित कामना पूरा हुनेहुँदा इच्छा नवमी र अमला (धातृ) को प्रयोगमा जोड दिइने परम्पराले धातृ नवमीसमेत भनिन्छ ।

अमला फलको वृक्षमा भगवान् विष्णु र भगवान् शिवको बास हुने धार्मिक मान्यता रहेको छ । आजको दिन सबैले शुद्ध चित्तले अमलाको वृक्षको पूजा अर्चना गरेमा भगवान् विष्णु र भगवान् शिवको कृपा रहने र अझ अमला र पीपलको विवाह गराइदिनाले अधिक पुण्य प्राप्त हुने मान्यता रहेको पाइन्छ । यसरी कमाइएको पुण्य यस जन्ममा मात्र नभई आउने कैयौँ जन्मसम्म फलदायी रहने समेत विश्वास गरिन्छ ।

आज अमलाको रुखबाट अमृतका थोपाहरू झर्ने मान्यता छ । त्यसैले आज अमलाको वृक्ष तल बसेर भोजन गर्नाले पनि समस्त रोगव्याध नष्ट हुने जनविश्वास छ । आज बिहान उठेर नुहाएपछि अमलाको वृक्षमा शुद्ध जल चढाउनु निक्कै फलदायी मानिन्छ । यसरी जल चढाएर आजको दिन व्रत बस्नाले सम्पूर्ण पापहरू नष्ट भई सबै मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

मिथिला क्षेत्रमा आजको दिनलाई विशेष महत्वका साथ लिइन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments