विराटचोकः दशैं बिदापछि खुलेको शेयर बजारमा पहिलो दिन रातो पोतिएको छ । नेप्से सूचक ५८ दशमलव ५५ अङ्क अर्थात् २ दशमलव १९ प्रतिशत घटेर २६०४ दशमलव ९६ बिन्दुमा रोकिएको छ ।
बजार खुलेदेखि नै आज नेप्सेमा बिक्री दबाब परेको थियो । कारोबारमा आएका ३२६ वटा कम्पनीको १ करोड ३ लाख ४५ हजार ९०३ कित्ता शेयर ५५ हजार ४५० पटक किनबेच हुँदा ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार ६५६ रुपैयाँको शेयर कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतिँदा अन्य समूह सर्वाधिक अर्थात ४ दशमलव ८३ प्रतिशतले घटेको छ । आज युनियन हाईड्रो पावरको सर्वाधिक २८ करोड ३१ लाख ३६ हजार ५१३ रुपैयाँको शेयर किनबेच भएको छ ।
आज सिक्लेस हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात् ७ दशमलव ७२ प्रतिशतले बढेको छ । भूगोल इनर्जीको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४३ खर्ब ५४ अर्ब ८० करोड २० लाख ३ हजार ७११ रुपैयाँ कायम भएको छ ।







