विराटचोकः सरकारले विभिन्न व्यक्तिको राहदानी रोक्का गर्ने भनी गरेको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
सरकारले जाँचबुझ आयोगको सिफारिशमा केपी ओली, रमेश लेखक, गोकर्णमणि दुवाडी, हुतराज थापा र छवि रिजालको राहदानी रोक्का गर्ने निर्णय गरेको छ ।
कांग्रेसले यसलाई राजनीतिक प्रतिशोधपूर्ण व्यवहार भनेको छ र अन्तरिम सरकारलाई दण्डहीनता प्रोत्साहन नगर्न सचेत गराएको छ ।
कांग्रेसका पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस वक्तव्य निकालेर सरकारले राहदानी रोक्का गर्ने र आफ्नै मुलुकभित्र पनि आवतजावत गर्न निषेध गर्ने किसिमका राजनैतिक प्रतिशोधपूर्ण निर्णय गर्न थालेको भनेर विरोध जनाएको हो ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो। उक्त आन्दोलनपछि आन्दोलनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोग गठन भएको छ । उक्त आयोगको सिफारिसमा सरकारले निवर्तमान प्रधानमन्त्री ओली र निवर्तमान गृहमन्त्री लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्ने निर्णय गरेको छ ।
यसअघि नेकपा एमाले निकट राष्ट्रिय युवा संघले निवर्तमान प्रधानमन्त्री ओली र एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि प्रतिशोध भए सह्य नहुने चेतावनी दिएको थियो । युवा संघका अध्यक्ष क्षितिज थेबेले मंगलबार प्रेस विज्ञप्तिमार्फत् यस्तो चेतावनी दिएका थिए । बुधबार कांग्रेसले प्रेस वक्तव्य निकालेर सरकारको निर्णयप्रति आपत्ति जनाएको हो ।







