विराटचोकः नेपाली कांग्रेसका नेता सुनिल शर्माले शिक्षामन्त्री महावीर पुनकी छोरीको शिक्षाको विषयमा फैलाइएको हल्ला निराधार भएको बताउनुभएको छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै मोरङ क्षेत्र नम्बर ३ बाट विजयी सांसद शर्माले वास्तविकता प्रष्ट्याउँदै धारणा राख्नुभएको हो । यस्तो छ उहाँले सामाजिक सञ्जालमा राखेको धारणाः
महावीर पुन सरको नाममा फैलाइएको निराधार हल्लाबारे मेरो धारणा
हाल बजारमा महावीर पुन सरमाथि “छोरीलाई १ करोड खर्च गरेर विदेशमा पढाइएको” भन्ने आपराधिक हल्ला लगाइएको छ । यो हल्ला पूर्ण रूपमा झुट्टा, निराधार र बदनियतपूर्ण मात्र हो । मलाई थाहा छ – मैले आज यो विषयमा कलम नचलाउँदा पनि हुन्थ्यो । तर मेरो मनले मानेन। मलाई ३ दिनदेखि छटपट्टी भइरहेको थियो । यस विषयमा लेखे भने समाजले मलाई पनि “गुलाम” भनेर सत्य नलेख भन्ला कि भन्ने डर थियो । तर म मरेर जाँदा मेरो आत्मालाई न्याय होस् भन्ने भावना जाग्यो । त्यसैले, मैले साहस गरेर यो विषयलाई बाहिर ल्याएँ र सत्य लेख्ने निर्णय गरेँ ।
घटनाको वास्तविकता
म एक दिन एभरेष्ट मिडियाका सञ्चालक दीप केसीमार्फत् महावीर पुन सरलाई भेट्न मेरी श्रीमती इन्दिरासँग राष्ट्रिय अनुसन्धान केन्द्र, कीर्तिपुर पुगेको थिएँ । त्यहाँ सरसँग लामो संवाद गर्ने अवसर पाएँ । उहाँले आफ्नो संस्था र कामहरू यति असाधारण सरलताका साथ प्रस्तुत गर्नुभयो, जुन मैले प्रत्यक्ष देख्ने सौभाग्य पाएँ र उहाँको जीवन, कर्म र जीवनमार्ग देखेर अत्यन्त प्रभावित भएँ ।
कुराकानीकै क्रममा पारिवारिक कुरा हुँदा उहाँको छोरीको अध्ययनबारे हल्का चर्चा भयो । त्यतिखेर मैले नै पहल गर्दै यदि चिकित्सा शिक्षा आयोगले निर्णय गरिदियो भने नानीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमध्ये एउटामा पूर्ण छात्रवृत्तिमा प्रवेश दिलाउन सकिन्छ भन्ने कुरा राखेँ । त्यसका लागि मैले चिकित्सा शिक्षा आयोगसमक्ष लिखित अनुरोध नै गरेको थिएँ र केएमसी तथा नोबेल दुवैको तर्फबाट गुनासो पनि पेश गरेको थिएँ । यस क्रममा केएमसीद्वारा एमइसीमा गरिएको पत्राचार अहिले पनि प्रमाणका रूपमा सुरक्षित छ । तर यो प्रयास पुरा हुन सकेन ।
त्यसपछि मैले एकपटक महावीर पुन सरलाई फोन गरेर बाहिर पठाउने बाहेक अर्को विकल्प नभएकोबारे सम्झाएको थिएँ । छोरीको पासपोर्ट समेत तयार भएको थिएन । मैले आग्रह गरी पासपोर्ट बनाउन लगाएँ । शुरुमा सरले अलिक अनाकानी गर्नुभएको थियो । पैसाको समस्या भए हामी सहयोग गर्छौँ, यो अवस्था डा. गोविन्द केसी सरको आन्दोलन र नेताहरूको गलत नीतिका कारण नेपालका धेरै मेडिकल, डेण्टलका सिटहरु काटिएका छन्, २०० जति नर्सिङ्गका कलेजहरु बन्द भएका छन् जसले गर्दा तपाईँजस्तै धेरै नेपाली अभिभावक पीडित हुनुभएको हो भनेर मैले सरलाई भनेको थिएँ । कुराकानीपछि महावीर सर सहमत हुनुभयो ।
त्यसपछि मैले मेरा एक जना पुराना साथी डा. नरेन्द्र मिश्रकहाँ पठाएँ । आइओएमका पास आउट साथी नरेन्द्र मिश्र पुतलीसडकस्थित आधार एजुकेशन प्रालिमा हुनुहुन्थ्यो । नानीको भर्ना प्रक्रिया शुरू भयो । महावीर पुन सरजस्तो इमानदार र देशका सम्पत्ति समान व्यक्तिबाट कुनै कन्सल्टेन्सी शुल्क नलिन र नानीलाई राम्रो कलेजमा पठाएर उनको सुरक्षा सुनिश्चित गर्न मैले मिश्रजीलाई अनुरोध गरेको थिएँ । यसरी ढाका विश्वविद्यालय अन्तर्गत नानीको जहारूल इश्लाम मेडिकल कलेज वाजितपुरमा भर्ना भई एमबीबीएस शिक्षामा प्रवेश भयो ।
नानीको नेपालको चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण भएर र्याङ्किङ नं. ६५१८ मा नाम निस्किएको थियो । एमबीबीएसका लागि मासिक शुल्क ६२१ अमेरिकी डलर अर्थात नेरू ८७,५९१ (जम्मा खर्च ४१,००० अमेरिकी डलर) लाग्ने रहेछ । मलाई प्राप्त सूचना अनुसार अहिलेसम्म सरले ५० प्रतिशतभन्दा बढी तिर्नुभएको छैन । यो खर्च उहाँले आफ्नो तवरले जुटाउदै भुक्तानी गर्दै आउनुभएकोमा म विश्वस्त छु किनकी हामीले आर्थिक सहयोग गर्न खोज्दा उहाँले अहिलेलाई ठीकै छ, मैले गर्न सक्छु भन्नुभयो ।
तर बजारमा अहिले हावादारी रूपमा यस सम्पूर्ण प्रक्रियामा १ करोड खर्च गरिएको भन्ने कुनै आधार छैन । बरु, डा. नरेन्द्र मिश्रजी जस्ता साथीहरूले सहयोग गरेर सबै काम पारदर्शी ढंगले सम्पन्न गरिएको हो । सत्य प्रष्ट छ । झुट्टा हल्लाले एक जना सोझो, निस्वार्थ भावनाबाट अभिप्रेरित भई आफ्नो काममा समर्पित जनजाति मूलका व्यक्तिप्रति यसरी आधारहीन आरोप लगाउनेहरू गलत नियतका हुन् । महावीर पुन सरजस्ता समाजसेवीलाई निरुत्साहित गर्ने प्रयास असफल हुनुपर्छ । हामी सबैले उहाँलाई निरन्तर उत्साह, समर्थन र सम्मान दिनुपर्छ ।
महावीर पुन सरसँगको पहिलो भेटको एउटा रमाइलो स्मरण पनि हामीसँग छ । त्यो भेटको क्रममा हामीले उहाँको आत्मवृतान्त पुस्तक खरिद गर्यौं । पुस्तकको पैसा दिने क्रममा फिर्ता दिने पैसा उहाँसँग भएन । हामीले फिर्ता चाहिँदैन आविस्कार केन्द्रलाई नै भयो भन्दा पनि उहाँले पैसा खोजेर ल्याई फिर्ता गर्नुभयो । त्यतिखेर पनि उहाँको त्यस्तो व्यवहार देखेर हामी छक्क पर्यौं ।
हामी समाज र देशको लागि उठ्नुपर्छ, एकजुट हुनु पर्छ । निराधार हल्लामा नलागौँ, प्रमाण र सत्यको आधारमा मात्रै बोलौँ ।







